Logo

रोटेपिङ संरक्षण गर्दै व्यास नगरपालिका



दमौली, १८ असोज (रासस) : लोपोन्मुख अवस्थामा रहेको रोटेपिङ संरक्षणका लागि जिल्लाको व्यास नगरपालिकाले पहल थालेको छ । जिल्लाका ग्रामीण भेगमा फाट्टफुट्ट देखिने तर शहरी भेगमा लोप भइसकेको रोटे पिङको संरक्षणका लागि नगरपालिकाले पहल थालेको हो ।

सदरमुकाम दमौलीमा आजभन्दा ३१ वर्ष पहिले रोटेपिङ बनाइएको थियो । त्यसयता दमौलीवासीले कहिल्यै पनि रोटेपिङ देख्न पाएनन् । तर व्यास नगरपालिकाको पहलमा गत वर्षदेखि प्रत्येक दशैँमा खुला मैदानमा रोटेपिङ हाल्न शुरु गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

“अहिलेका पुस्तालाई रोटेपिङ कस्तो हुन्छ भन्नेबारे पनि थाहा नहुन सक्छ”, न्यौपानेले भने , “लोप हुँदै गइरहेकाले यसको सम्वद्र्धन र संरक्षण गर्ने प्रयास गरेका हौँ ।” नगरप्रमुख न्यौपानेका अनुसार प्रत्येक वर्षको दशैंमा रोटेपिङ हाल्ने परम्परालाई निरन्तरता दिइनेछ ।

नगरपालिकाकै आर्थिक लागतमा खुला मैदानमा पिङ बनाइएको छ । गत वर्ष हालिएकै सामग्री प्रयोग गरेर पिङ बनाइएको नगरपालिका–२ का वडा सदस्य टुकबहादुर हमालले जानकारी दिए । हमालका अनुसार रोटेपिङ बनाउनका लागि म्याग्दे गाउँपालिकाका पाँच जना खटिएका थिए । रोटेपिङ सँगसँगै दुई वटा लिङ्गेपिङ पनि बनाइएको छ ।

नगरपालिकाको सक्रियतामा दमौलीमा गत वर्षदेखि रोटेपिङ हाल्न शुरु गर्नु सकारात्मक रहेको स्थानीय प्रकाश श्रेष्ठले बताउनुभयो । “रोटे पिङको संरक्षणका लागि नगरपालिकाले देखाएको चासो अत्यन्तै राम्रो छ”, श्रेष्ठले भने , “यसले कमसेकम दशैँमा भए पनि बजारवासीले रोटेपिङको अनुभव लिन सक्छन् ।”



प्रतिक्रिया दिनुहोस्