Logo

कैदीबन्दीलाई खसी र खाद्यान्न



काठमाडौं १९ असोज । दसैं मनाउन कारागारभित्र खसी र खाद्यान्न पाएपछि कैदी र बन्दी (थुनुवा) मा खुसी छाएको छ । दसैं मनाउन सहज भएको उनीहरुले बताए ।

कारागार आन्तरिक व्यवस्थापनका नाइके राजन पोखरेलले दसैं मनाउने सुरसार नभएको बेला पाएको सहयोगले कैदीबन्दी खुसी भएको बताए । ‘दसैं त मनाउनु पर्‍यो । सरकारी सिदाले दसैं मनाउन सकिँदैन । खसी र खाद्य सामग्री सहयोग मिल्यो’ उनले भने, ‘यतिले मात्रै पुग्ने होइन, हामी आफैं पनि केही व्यवस्थापन गर्छौं । सहयोगले थप सहज भएको छ ।’

कारागारका चौकीदार दिनेश परियारले खसी र खाद्यान्नले कैदीबन्दीलाई दसैं मनाउन सहयोग मिलेको बताए । ‘आफन्तले फोन गर्छन्, दसैं मनाउन पाएनौं, मासु खान पाएनौं भनेर बोल्छन् । हामीलाई खसी र खाद्यान्न छ, हामी राम्रैसँग दसैं मनाउँछौं भन्न पाएका छौं’ उनले भने ।

कैदीबन्दीलाई नेपाल बार एसोसिएसन लमजुङ इकाईले १५ हजार रुपैयाँ बराबरको खसी शनिबार कारागारमै गएर प्रदान गरेको छ । बार अध्यक्ष कृष्णप्रसाद अधिकारीले विभिन्न परिबन्धमा परे पनि चाडबाड मनाउन पाउने सबैको अधिकार भएकाले शुभकामना स्वरुप खसी प्रदान गरेको बताए ।

कारागारका कैदीबन्दीलाई दसैं मनाउन लमजुङ मर्स्याङ्दी युवा क्लबले कारागारमै पुगेर खाद्य सामग्री सहयोग गरेको छ । क्लबका अध्यक्ष जुन तामाङका चामल, चिउरा, तेल, चिनी लगायत १५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्