Logo

महरा आज पक्राउ पर्न सक्ने



काठमाडौं १९ असोज । संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

संघीय संसद् सचिवालयकी स्वास्थ्यकर्मी रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा शनिबार किटानी जाहेरी दिएकी छन् । शाही स्वयं शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर महराविरुद्ध बलात्कार प्रयासको कसुरमा किटानी जाहेरी दिएकी हुन् । यससम्बन्धी थप कानुनी कारबाही प्रक्रिया आइतबारदेखि अगाडि बढाउने प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार यौन दुर्व्यवहारको घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा प्रहरी र पीडित रोशनीबीच भएको लामो छलफलपछि उजुरी दर्ता गरिएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । सीसीटीभी फुटेजमा समेत महरा रोशनीको कोठामा देखिएको स्रोतले उल्लेख गरेको छ । ‘आइतबार अपराह्न ४ बजे महराले रोशनीसँग फोन सम्पर्क गरेका थिए । त्यसपछि उनी साँझ रोशनी कोठामा पुगे । उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मका सबै सीसीटीभी फुटेज प्रहरीसँग सुरक्षित छ,’ प्रहरी स्रोतले भन्यो ।

किटानी जाहेरी शनिबार दर्ता भएकाले आइतबार अदालतको अनुमति लिएर महरामाथि थप अनुसन्धान प्रक्रिया सुरु गरिने प्रहरीले जानकारी दिएको छ । यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए । महराको सांसद पद भने यथावत् छ ।

किटानी जाहेरीपछि प्रहरीले बलात्कार प्रयासको अभियोगमा छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसद पदबाट निलम्बन गर्न प्रतिनिधिसभाकी उपसभामुख (कार्यवाहक सभामुख) समक्ष लिखित आग्रह गर्ने भएको छ । बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुख या कार्यवाहक सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ ।

अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा घटनास्थलबाट बरामद सामानको फरेन्सिक जाँचको प्रक्रियासमेत अघि बढाएको छ । रोशनीले आइतबार राति नै प्रहरीलाई फोन गरी महराले आफूलाई बलात्कार गरेको मौखिक जानकारी गराएकी थिइन् । खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा रोशनीको कोठाबाट फर्किइसकेका थिए । प्रहरीले घटनास्थलमा रक्सीको बोतल, फुटेको चस्माको सिसालगायतका सामान बरामद गरेको छ ।

रोशनीमाथि गरेको दुर्व्यवहारको मुद्दामा अनुसन्धान सुरु गर्न चौतर्फी दबाब बढेपछि गृहमन्त्री रामबहादुर थापाले महानिरीक्षक सर्वेन्द्र खनालसहितका उच्च प्रहरी अधिकारीसित शुक्रबार साँझ छलफल गरेका थिए । छलफल महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा भएको थियो । छलफलमा गृहमन्त्री थापा, महानिरीक्षक खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र नयाँ बानेश्वर वृत्तका डीएसपी दुर्गाराज रेग्मीलगायत सहभागी थिए ।

गृहमन्त्री थापाले छलफलका क्रममा रोशनीमाथि महराबाट भएको दुर्व्यवहारको घटना सम्बन्धमा भइरहेको छानबिनबारे प्रहरी अधिकारीहरूसँग जानकारी लिएका थिए । गृहमन्त्री थापाले छलफलका क्रममा अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । ‘निष्पक्ष अनुसन्धान गर्नुस्, कसैसँग डराउनु पर्दैन । निर्धक्क भएर छानबिन अगाडि बढाउनोस्,’ थापाको भनाइ उद्धृत गर्दै स्रोतले कान्तिपुरसित भन्यो ।
प्रहरीले आइतबार अदालतबाट पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्ने तयारी भइरहेको स्रोतले उल्लेख गरेको छ ।

‘पीडितको जाहेरी आइसकेकाले महरालाई पक्राउ गरेर नै अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौं,’ प्रहरी स्रोतले भन्यो ।

रोशनीले आइतबार राति आफूमाथि महराबाट यौन दुर्व्यवहार भएको दाबी गर्दै सोमबार आफैंले घटना सार्वजनिक गरेकी थिइन् । उनले भोलिपल्टै महरा आफ्नो काठामै नआएको र दुर्व्यवहारसमेत नभएको दाबी गरेकी थिइन् । महराले समेत आफू रोशनीको कोठामा जाँदै नगएको र घटना हुँदै नभएको दाबी गर्दै आएका छन् । घटना सार्वजनिक भएपछि रोशनी र उनका श्रीमान्बीच सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेको छ । दुवै जनाले अगल बस्ने लिखित सहमति गरेको उनका श्रीमान्ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

अपराध संहिता २०७५ अनुसार बलात्कार गरेको प्रमाणित भए महरामाथि ७ देखि १० वर्ष कैद सजाय हुनेछ भने बलात्कारको प्रयास गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । रोशनीले डिप्रेसनको औषधि सेवन गर्दै आएकी छन् । अपराध संहिताअनुसार अस्वस्थ महिलालाई बलात्कार गरेको प्रमाणित भए थप ५ वर्ष सजाय हुन्छ ।

अपराध संहिताको दफा २२४ (२) मा ‘कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ’ भनिएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्