Logo

महोत्तरीका बस्तीमा बँदेल आतङ्क



महोत्तरी, २० असोज : बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन् ।

दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ । पछिल्ला तीन दिनयता १०-१२ को सङ्ख्यामा बारी पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताए । भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोलबनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा जङ्गली बँदेलको बिगबिगी बढेको छ ।

त्यसैगरी बर्दिवासको मनहरीपुर, फुलबारीटोल र पशुपतिनगरमा पनि जङ्गली बँदेलले तरकारी बाली र केराका थाम उखेलेको किसानले बताएका छन् । पछिल्लोपटक बँदेलसँगै दुम्सी पनि बस्ती नजिकका उखुघारीमा बढेका पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताए । जिल्लाको गौशाला नगरपालिकाको भरतपुर खोर, बटुवा, लक्ष्मीनियाँ र इँटाटार बस्तीमा बँदेलले बाली निकै नोक्सान गरेको किसानको गुनासो छ । यसबाहेक पूर्वपश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रका बर्दिवास नगरपालिकाका कृष्णपुर, खजुरियाटोल र करमटोकीमा पनि बँदेल बाक्लै पसेका छन् । उखु र तरकारीखेती गरिने जिल्लाको उत्तरी क्षेत्रमा बँदेल दिनभरि उखुबारीमा लुकेर प्रत्येक रातजसो तरकारी नोक्सान गर्न समूहमा आउने गरेको किसान बताउँछन् । मिरमिरे उज्यालो नभएसम्म कोभी फाँडेर बँदेल घारी पस्ने गरेको पशुपतिनगरकी किसान शैल महतोले गुनासो गर्नुभयो । आफ्नो बस्तीमा दशैँ शुरु भएयतामात्र तीन-चार बिघाको कोभी खेती नोक्सान गरेको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालको भनाइ छ ।

बँदेलले बारीमा सबैभन्दा बढी कोभी, लौका र काँक्रा नोक्सान गर्ने गरेको किसानको भनाइ छ । बँदेलले झम्टने डरले किसान बाली रुँग्न पनि डराउने गरेका छन् । वन क्षेत्रबाट बस्तीतिर पसेका बँदेल, दुम्सी र नीलगाई औरही नगरपालिकाको चेप्कोट, औरहीबजार नजिकको जङ्घा नदी किनार र गौशाला नगरपालिकाको भाण्टाबारी, रजखोर, रामनगर, कुष्माढी र बेलगाछीमा छ्यापछ्याप्ती देखिने गरेका छन् । करीब मध्यरातदेखि बिहान ४ बजेसम्मको समयमा बँदेल आतङ्क बढेको सर्वसाधारणको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्