Logo

सहयोगापेक्षीलाई आश्रममा न्यानो माया



रुपन्देही, २३ असोज : पेटमा सात महीनाको गर्भ बोकेर बुटवलको सडकमा भौतारिँदै गरेकी मायालाई मानव सेवा आश्रमले आश्रय दियो । उनले आश्रममा खाने, लगाउने र बस्ने मात्र होइन स्वास्थ्य उपचार र राम्रो हेरचाहसमेत पाएकी छन् ।

सात महीनाको गर्भ बोकेर आश्रममा आएकी मायाको अहिले छ महीनाको छोरा छ । तर मानसिक सन्तुलन गुमाएकै अवस्थामा बालकलाई जन्म दिएकाले उनलाई आफ्नो छ महीनाको छोरा छ भन्ने हेक्का पनि छैन । नत आफ्नो घर र परिवारबारे नै जानकारी छ । हेर्दा १६-१७ वर्षकी जस्तै देखिने उनको घर परिवार भनेकै अहिले मानव सेवा आश्रम हो । उनको छ महीनाको बालकले पनि आश्रममा परिवारको माया पाएको छ । “हेर्दा कलिलो उमेरकी लागे पनि पेट ठूलो देखेपछि गर्भवती नै हो भन्ने लागेर सडकबाट उठाएर आश्रममा ल्यायौँ, जचाउँदा सात महीनाको गर्भ रहेछ”, आश्रममा बस्नेको रेखदेख गर्दै आएकी अभियान्ता टीका थापाको भनाइ छ ।

विगत १० वर्षे द्धन्दका बेला रोल्पामा आन्दोलनको अगुवाइ गरेकी निर्मला विक पनि आश्रममै छिन् । विद्रोहबाट प्राप्त उपलब्धिको स्वाद चाख्ने बेलामा मानसिक सन्तुलन गुमाएर एक्लै बनेकी विकको सहारा अहिले मानव सेवा आश्रम बनेको छ । उनको शारीरिक अस्वस्थताको फाइदा उठाएर श्रीमान्ले अर्को विवाह गरी भारत गएपछि उनको अवस्था झनै नाजुक बन्यो । रोल्पाबाट नवलपरासीको त्रिवेणीमा पुगेर कष्टपूर्ण जीवनयापन गर्दै आएकी उनलाई उद्धार गरी आश्रममा ल्याइएको हो । आगोले जलेर दुवै खुट्टाको पैतालाको भाग गुमाएकी उनी हिँड्न र राम्ररी बोल्न पनि सक्दिनन् । पूर्णरुपमा मानसिक सन्तुलन गुमाएका कारण उनलाई आफूको को हुँ भन्नेसम्म पनि याद छैन । “उनी रोल्पाकी हुन् भन्ने थाहा पाएपछि उनको परिवारबारे जान्ने कोसिस गर्यो ”, अभियान्ता थापाले भनिन्, “श्रीमान् अर्को बिहे गरेर भारत गएका रहेछन् ।”

मानसिक सन्तुलन गुमाएर सडकमै दिन कटाउने गरेका अर्जुन तामाङ पनि अहिले मानव सेवा आश्रममा आश्रय लिइरहेका छन् । अन्दाजी ३० वर्षीया तामाङको घर पत्ता लागेको छैन । उनको आश्रममा स्वास्थ्य उपचारसमेत भइरहेको छ । “तामाङको घर पत्ता लगाउन धेरै कोसिस गरेका छौँ, आफैँलाई थाहा नभएपछि समस्या हुनेरैछ”, अभियान्ता थापाले भनिन् ।

माया, निर्मला र अर्जुनजस्ता खुला आकाशमुनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न विवस मनोरोगी र अशक्त नागरिकको आश्रयस्थल बनेको छ बुटवलको मानव सेवा आश्रम । शारीरिक तथा मानसिकरुपमा अशक्त मनोरोगी, अनाथ, अपाङ्गता भएका व्यक्ति र सहयोगापेक्षी मानवको उद्धार, उपचार र पालनपोषण गर्ने उद्देश्यले गत वर्षदेखि बुटवलमा यो आश्रमको स्थापना गरिएको हो ।

आश्रममा अहिले ६० जना मनोरोगी तथा अशक्त नागरिकले सेवा लिइरहेका छन् । अहिलेसम्म १८ जनालाई पुनर्मिलन गराएको आश्रमका अभियान्ता विष्णु भुजेलले जानकारी दिइन् । सात वटा प्रदेशका १३ जिल्लामा आश्रमका शाखा सञ्चालनमा छन् । जसमा ८०० सहयोगापेक्षी मानवलाई सेवा दिइएको प्रदेश ५ का संयोजक रुपा केसीले जानकारी दिइन् ।

विसं २०६९ भदौ १३ गते मकवानपुरको हेटौडाबाट विधिवत् शुभारम्भ भएको आश्रम रुपन्देहीको बुटवल, भरतपुरको चितवन, काठमाडौँ, ललितपुर, गोरखा, लमजुङ, वीरगञ्ज, बागलुङमा स्थापना भएको छ । विसं २०८२ भित्र नेपालको सडकपेटीमा बाध्यात्मकरुपमा कसैले जीवन बिताउन नपर्ने अवस्थाको सिर्जना गर्ने संस्थाको उद्देश्य छ । रासस



प्रतिक्रिया दिनुहोस्