Logo

निवर्तमान सभामुख महराको बयान सुरु



काठमाडौं २४ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालय लगिएको थियो ।

सुरुमा महानगरीय प्रहरी वृत्त बानेश्वरले सो घटनाको अनुसन्धान सुरु गरेको थियो । काठमाडौं परिसरले नै फाइल खिचेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सरकारी वकिल कार्यालयको रोहवरमा बयान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । बिहीबार नै उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उच्च रक्तचापका बिरामी महरालाई स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गर्नुपरेको प्रहरीले जनाएको छ ।

महरालाई प्रहरीले आगामी मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई थप थुनामा राख्न अनुमति लिनेछ । आइतबारसम्म अदालतमा दसैँको बिदा छ । सोमबार पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको मृत्युका कारण बिदा गरिएको छ । जसकारण मंगलबार मात्र अदालत खुल्नेछ । १९ गतेदेखि नै लागू हुने गरी प्रहरीले अदालतबाट म्याद लिनेछ ।

यस्तो मुद्दामा बढीमा २५ दिनसम्म मात्र थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ । मुद्दा दायर निकाय सरकारी वकिल कार्यालय हो । सामान्यतया मुद्दा दायरको एक दिनअघि प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाउनुपर्ने हुन्छ । जसअनुसार १३ कात्तिकभित्र महरालाई अदालतमा मुद्दा चलाइसक्नुपर्ने हुन्छ । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्