Logo

प्रहरी सेवा जिम्मेवार बनोस् : मुख्यमन्त्री राउत



जनकपुरधाम, २४ असोज : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी सेवालाई समयसापेक्ष बनाउनु आवश्यक भएको बताएको छ । ६४औँ प्रहरी दिवस–२०७६ का अवसरमा प्रदेश नं २ प्रहरी कार्यालयद्वारा आज जनकपुरधाम आयोजित समारोहमा मुख्यमन्त्री राउतले पुरानै कार्यशैलीबाट शान्तिसुरक्षा कायम असम्भव रहेको प्रसङ्ग उल्लेख गरे । उनले प्रहरीले निर्दोषलाई दोषी बनाउने क्रियाकलापको अन्त्य गर्दै मुस्कानसहितको सेवालाई चरितार्थ गर्नु जरुरी छ भने ।

मुख्यमन्त्री राउतले प्रहरी हाम्रै बीचको साथी नै हो भन्ने भावनाको विकासका लागि हिजोका विकृति र कमी–कमजोरीबाट उन्मुक्ति पाउनु आवश्यक छ भन्दै पुरानो सोच त्याग गरी इमान्दारीका साथ जिम्मेवारी बहन गर्नुपर्ने खाँचो औल्याए ।

प्रदेश सरकार प्रहरी सङ्कायलाई सङ्घीयताअनुरूप प्रविधियुक्त र स्रोतसाधनले सम्पन्न बनाउने सन्दर्भमा गम्भीर रहेको चर्चा गर्दै उहाँले प्राकृतिक विपद्का बेला प्रहरीले पुर्याएको सेवा प्रशंसनीय भएको प्रसङ्ग उल्लेख गरे ।
हिजोका दिन बिर्सिंदै प्रहरी सङ्कायलाई समसामयिक हिसाबले तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेश सरकार प्रहरी सेवा जिम्मेवार बनोस् भन्ने चाहना राखेको बताए ।

आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीय संरचना अनुरूपको नयाँ प्रहरी ऐन निर्माणको खाँचो औल्याए ।
प्रहरीको क्षमता अभिवृद्धि, वृत्ति विकास, समयसापेक्ष कार्य सम्पादन योग्य बनाउने व्यवस्थापनका लागि सरकार गम्भीर रहेको पनि उनले बताए ।

समारोहमा प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रहरीका गतिविधि बारेमा जानकारी गराउनु भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्