Logo

नेकपा–चिनियाँ कम्युनिस्ट पार्टीबीच ७० वर्ष पुरानो सम्बन्ध



काठमाडौं २६ असोज । सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टी र सन् १९४९ (२००६) सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीबीच करिब सात दशक पुरानो सम्बन्ध छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा सैन्य आयोगका प्रमुखसमेत रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने उद्देश्यसहित आज नेपाल भ्रमणमा आउँदै छन् ।

गत ७ असोजमा काठमाडौंमा सम्पन्न नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीचको वैचारिक अन्तरक्रियालाई सी भ्रमणकै गृहकार्यको एउटा कडिका रूपमा हेरिएको थियो । ६ बुँदे सम्झौतामार्फत नेताहरूले दुई पार्टीबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उद्घोष गरेका थिए ।

माओ त्सेतुङको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछि चिनियाँ अनुभवको नक्कल गर्दै नेपालमा पनि जनवादी क्रान्ति गर्ने उद्देश्यले नेकपाका तत्कालीन महासचिव पुष्पलालले नेता गौरीभक्त प्रधानलाई गुरिल्ला तालिमका लागि चीन पठाएका थिए । मुस्ताङको बाटो हुँदै चीन पुगेका प्रधान तीन वर्ष गुरिल्ला युद्धको तालिम लिएर स्वदेश फर्किए । चीनमा रहँदा विभिन्न तालिम र प्रशिक्षण लिएका उनले ‘मेरा सम्झनाहरू’ नामक पुस्तकमा त्यसको अनुभव उल्लेख गरेका छन् ।

त्यस्तै, नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य ०१४ मा मजदुर दिवसमा भाग लिन चीन पुगेका थिए । तत्कालीन मालेको चौथो महाधिवेशनसम्म हिंसात्मक बाटोबाट राज्यसत्ता कब्जा गर्ने कि नगर्ने, जनवादी अधिनायकत्वजस्ता विषय बहसमा थिए । तर, भारतको नक्सलाइट आन्दोलनबाट प्रेरित वर्गशत्रु खत्तम अभियानअन्तर्गत ०२८ मा झापा विद्रोहमाबाहेक माले धारले हिंसाको बाटो अख्तियार गरेन ।

दोस्रो महाधिवेशनबाट महासचिवमा निर्वाचित तत्कालीन महासचिव मनमोहन अधिकारी करिब साढे तीन वर्ष चीन बसेर फर्किएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी करिब साढे तीन वर्ष छाला रोगको उपचार सकेर ०१६ मा स्वदेश फर्किएका थिए । उनको सम्पूर्ण उपचार खर्चसमेत चिनियाँ कम्युनिस्ट पार्टीले नै व्यहोरेको स्कुल विभागका उपप्रमुख वेदुराम भुसाल स्मरण गर्छन् । उनी चीनमै रहेका वेला तत्कालीन महासचिव केशरजंग रायमाझीको नेतृत्वमा पुष्पलाल ०१५ मा चीन भ्रमणमा गएका थिए ।



प्रतिक्रिया दिनुहोस्