Logo

प्रयोगमा आएन शव दाहस्थल



बेझाड, २६ असोज  : रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाटको किनारमा शव दाहस्थल निर्माण गरिएको छ । शवलाई दाह संस्कार गर्न सजिलो होस् भनेर शव दाहस्थल निर्माण गरिएको हो । स्थानीयमा अझै पनि पुरानो संस्कृति र शव दाहस्थल व्यवस्थापन गर्ने बानी नभएकाले प्रयोग गरेको पाइँदैन ।

पुरातात्विक विभाग तथा नेपाल पर्यटन बोर्डको सहयोगमा करीब रु १२ लाखको लगानीमा शव दाहस्थल निर्माण गरिएको हो । पानी परेका समय, वर्षायाममा शव जलाउन सजिलो होस् भनेर यहाँ शव दाहस्थल निर्माण भएको पनि लामो समय भइसक्यो तर स्थानीयले भने प्रयोग गर्ने गरेको पाइँदैन । मानिसमा सोच परिवर्तन नहुँदा अझै पनि धेरैले शव दाहस्थलको सट्टा नदी किनार बगरमै शव दाह गर्ने गरेको समितिका सचिव नारायण खनालले बताए ।

“शव दाहस्थलमा दाह संस्कार गर्न अप्ठ्यारो मान्ने, नदी किनारमै लगेर अझै पनि दाह संस्कार नै गर्नुपर्छ भन्ने परम्परावादी मान्यता हट्न सकेको छैन”, उनले भने । समयअनुसारको सुविधा उपभोग गर्नभन्दा पनि पुरानै संस्कारलाई बदल्न नसक्दा सुविधालाई उपभोग गर्न झट्ट सहज मान्दैनन् । नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थलका नामले परिचित बनेको केलादीघाटमा धेरैले शद दाह संस्कार गर्ने गर्छन् ।

नदी किनार भन्दा थोरै माथि भएकाले शव दाहस्थलमा दाह संस्कार गर्न समस्या परेको स्थानीय समाजसेवी बोधराज सुवेदीले बताए । “शव दाहस्थलमा दाह संस्कार गर्न समस्या, दाह संस्कार सकिएपछि सफा गर्न पानीको समस्या परेकाले सजिलोको लागि नदी किनारमै शव दाहसंस्कार गर्ने गरिन्छ”, उनले भने ।

वर्षायाम र हिउँदयाममा सुविधा हुने गरी शव दाहस्थल निर्माण गरियो भने धेरैले प्रयोग गर्ने सुवेदीको भनाइ छ । यस क्षेत्रमा चार वटा शव दाहस्थल, एक वटा शव गृह निर्माण भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वका रुपमा रहेको केलादी घाटमा शव जलाए पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

समयअनुसार चलनचल्तीमा आएका सुविधालाई प्रयोग गर्नुका सट्टा पुरानै संस्कारमा मानिस जगेडिएकाले नियमित प्रयोगमा ल्याउन नसकिएको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य देवबहादुर दर्जीले बताए । रामपुर नगरपालिका, निस्दी गाउँपालिका क्षेत्रका स्थानीयलाई प्रयोगमा आउने गरी यहाँ शव दाहस्थल निर्माण गरिएको हो । विसं २०६८ देखि यहाँका स्थानीयवासी, नेतत्वकर्ताको सहमतिमा शव दाहस्थल निर्माण कार्य शुरु गरिएको हो ।

रातको समयमा शवलाई राख्न मिल्ने खालको भवन पनि बनाइएको छ । पानी परेका बेला शवलाई जलाउन सजिलो हुने, थोरै दाउराले पनि पुग्ने भए तापनि अरुले शव जलाएको ठाउँमा जलाउनु हुँदैन भन्ने पुरानो मान्यताका कारण प्रयोगमा ल्याउन सकिएको छैन । रासस



प्रतिक्रिया दिनुहोस्