Logo

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना



काठमाडौँ, २६ असोज : मानव अधिकार तथा शान्ति समाजले स्व कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र स्व राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान गरी दुई पुरस्कार स्थापना गरेको छ ।

स्रष्टा सम्मान पुरस्कारअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका एक महिला र एक पुरुष गरी दुई जनालाई जनही रु २० हजार नगद र सम्मानपत्र प्रदान गरिने समाजका सभापति उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।

पुरस्कार स्थापना गर्न अक्षय कोषका लागि स्व दाहालद्वयका पनातिनी तथा नातिनीहरु अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले रु तीन लाख समाजलाई प्रदान गरेका छन् । कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि समाजका केन्द्रीय कार्य समितिका सभापति पुडासैनीको संयोजकत्वमा सल्लाहकारहरु होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिद्वय विष्णुप्रसाद चापागाईं, रेनुका पौडेल र महासचिव सुशील बस्नेत सम्मिलित छनोट समिति गठन गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्