Logo

नेपाल-चीन सम्बन्ध ‘नयाँ उचाइमा’



काठमाडौं २७ असोज । नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्‍याउन चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सफल भएको छ। राष्ट्रपतिको सीको भ्रमण समापन भएकै दिन सोमबार जारी १४ बुँदे संयुक्त वक्तव्यमा भ्रमणले नेपाल–चीन सम्बन्धमा राजनीतिक विश्वास आर्जन र सम्बन्ध प्राथमिकीकरण गर्न सफल भएको उल्लेख छ। भ्रमणले पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको वक्तव्यमा छ।

वक्तव्यअनुसार राष्ट्रपति सीको भ्रमणले दुई मुलुकबीचको सदियौंको सम्बन्धलाई थप क्रियाशील बनाएको छ। सीले भूपरिवेष्टित नेपाललाई भूजडित तुल्याउन मद्दत गर्ने घोषणा र त्यसका आधारले दुई देशको सहकार्य थप बढ्ने आशा पनि वक्तव्यमा छ। ‘समस्यारहित नेपाल–चीन सम्बन्धमा भ्रमणले नेपालको समृद्धिको यात्राका लागि चीन भरपर्दो साझेदार बनेको छ,’ वक्तव्यमा छ।

सरकारले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणामा चीनले सहयोग गर्ने जनाएको छ। त्यसका लागि लगानीदेखि अन्य पाटोको खोजी हुने पनि उल्लेख भएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणादेखि विगतमा भएका सम्झौता र आगामी दिनमा गर्नुपर्ने आधारहरू समेत १४ बुँदेमा उल्लेख छ। नेपाल अतिकम विकसित मुलुकबाट आगामी ११ वर्षभित्र माथि उठिसक्नुपर्ने विषयलाई चीनले गम्भीरतापूर्वक लिँदै त्यसको आधारमा सहयोग गर्ने विषय संयुक्त वक्तव्यमा छ। तर, त्यसका लागि राष्ट्रपति सीले काम गर्न अनुशासनको विषयलाई उठाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपति सी दुईदिने भ्रमणमा शनिबार काठमाडौं आएका हुन्। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि भएको हो। भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारी, प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनको नेतृत्वमा सत्तारुढ दल नेकपाका सचिवालय नेताले सीसँग द्विपक्षीय वार्ता भएको छ।

काठमाडौंमा चिनियाँ राष्ट्रपति सीको २१ घन्टा (फोटो फिचर)
नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको बताइएको छ। समृद्धितर्फको नेपालको यात्रामा सघाउन तथा भौतिक पूर्वाधारको अभाव हटाउन सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसँगै सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुलाई भ्रमणको महŒवपूर्ण उपलब्धिको रूपमा सरकारले लिएको छ।

राष्ट्रपति सीले भ्रमणका क्रममा नेपालको विकासमा चीनको प्रतिबद्धता झल्कने गरी आगामी दुई वर्षका लागि आर्थिक सहायतास्वरूप करिब ५६ अर्ब रुपैयाँ (साढे तीन अर्ब आरएमबी) उपलब्ध गराउने घोषणा गरे। सीले परियोजना प्रारम्भ गर्ने तर त्यसलाई पूर्णता प्रदान नगर्ने परिपाटीले लक्षित विकास–निर्माण कामले गति नलिने कार्यान्वयन तहमा खरो उत्रन नेपाली नेतृत्वलाई सुझाएको छलफलका एक सहभागीले बताए। उनले आफ्नो मुलुकको विकासको प्रमुख कारण नै अनुशासन भन्दै त्यसमा ध्यान दिन सुझाएको पनि वक्तव्यमा झल्किन्छ।

सबै तहमा उनले सहकार्यको विषय उठाएर फर्केका छन्। मुुलुक–मुलुक सम्बन्ध झैं जनता र राजनीतिक दलबीचको सहकार्यको दायरा बढाउन पनि उनले पहल गरेका थिए। उनले जनता र राष्ट्रलाई सही बाटोमा डोर्‍याएका कारण जनताको अपार समर्थन रहेको सुनाउँदै त्यसमा केन्द्रित हुन सुझाव दिएका छन्। दुई देशका नेतृत्वबीच द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका विषयमा गहन रूपमा विचार आदानप्रदान भएको थियो। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तथा अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा प्रेरित गर्ने भएका छन्।

राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच सम्पन्न द्विपक्षीय वार्ता र त्यसपछि दुई मुलुकले आपसी साझेदारी र सहकार्य गर्ने सम्बन्धमा १८ समझदारी, सम्झौता र सन्धिसँगै दुईवटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो। चिनियाँ राष्ट्रपति सी स्वदेश फर्कनुअघि गम्भीरदेखि सामान्य समझदारी समेत उही स्तरमा हस्ताक्षर भएको छ। नेपाल र चीनबीच द्विपक्षीय औपचारिक वार्तापछि परराष्ट्र, गृह, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायसँग विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नेपाल र चीनबीचको व्यापार असन्तुलन घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी पनि सहकार्यको आयामको रूपमा लिइएको छ। अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठन गर्ने समझदारीले द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिमा टेवा पुग्ने सरकारको धारणा छ। नेपालमा पाइने फलफूल चीन निर्यात गर्न मार्गप्रशस्त गर्ने विषय पनि परेको छ। चीन निर्यातको द्विपक्षीय समझदारीबाट पनि मुलुकमा निर्यात प्रवद्र्धनमा योगदान हुने देखिएको छ।

सम्बन्ध नयाँ युगमा प्रवेश : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणले दुई देशको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छन्। भण्डारीले राष्ट्रपति सीलाई बिदाइपछि ट्वीट गर्र्दै भनेकी छन्, ‘चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’

भ्रमण सफल : ओली

प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनका राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रूपमा सफल भएको बताएका छन्। आइतबार राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा बिदाइ गरेलगत्तै ट्वीटमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ।’

राष्ट्रपति सीले नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाएका सद्भाव र सदिच्छाका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरे, ‘भ्रमणलाई अभूतपूर्व रूपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

सम्झौता हस्ताक्षर

नेपाल र चीनबीच २० समझदारी, सन्धि र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा आइतबार ती समझदारीमा हस्ताक्षर भएको हो। हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूत र अधिकारीले आदानप्रदान गरेका थिए।

प्रधानमन्त्री ओली नेतृŒवको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थसचिव नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए।

२० बुँदेमा आपसी कानुनी सहायता विषयमा प्रश्न ?

२० बुँदे सम्झौतामध्येको तेस्रो बुँदामा ‘नेपाल र चीनबीच आपराधिक मामिलामा आपसी कानुनी सहयोगसम्बन्धी सन्धि’ भएको उल्लेख छ। पूर्वप्रधानमन्त्रीहरूले सुपुर्दगी सन्धि नगर्न सुझाव दिइरहेको अवस्थामा यो सम्झौता भएको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि नै सुपुर्दुगी सन्धि नहुने बताएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले पनि यो विषय सुपुर्दगी सन्धि नभएको र कानुनी सहयोगको विषय मात्रै भएको बताए। सोसम्बन्धी विषय चीनका तर्फबाट सन् २००९ मा नेपाललाई प्रस्ताव गरिएको थियो। त्यो सन्धिभित्र के–के राखिएको छ भन्ने कुरा भने खोलिएको छैन। पारस्पारिक सहायता सम्झौता भनेकै सुपुर्दुगी सन्धिको रूप रहेको बताइन्छ। अमेरिकासँग नेपालले प्रत्यारोपण सम्झौता गरेको छ। यस प्रकारको सम्झौताले मानिस नै एक अर्का मुलुकमा पठाउने नभई कानुनी सहयोग मात्रै गर्ने सन्धि भएको दाबी गरे।

यसबाहेक सहमतिको सातौं बुँदामा नेपाल र चीनबीच सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने र समझदारी भएको विषय उल्लेख छ। पन्ध्रौँमा नेपालको उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारका विषयमा संयुक्त कार्यदल स्थापना गर्ने समझदारी र अठारौं बुँदामा अर्थ मन्त्रालय र चीनको इन्टरनेशनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीबीच सुरुङ निर्माणमा सहयोगसम्बन्धी समझदारी पनि उत्तिकै महŒवपूर्ण छ। सरकारले छन्तुमा माहावाणिज्य दूतावास खोल्ने विषय भने त्यति युक्तिसंगत छैन। अन्य मुलुकले तिब्बतमा महावाणिज्य दूतावास खोल्न नपाउँदा तिब्बत नियाल्न छन्तुमा महावाणिज्य दूतावास खोलेका छन्। तर नेपालको तिब्बतको ल्हासामा महावाणिज्य दूतावास र यता क्वाङचौ (ग्वान्जाओ) मा महावाणिज्य दूतावास रहेकाले त्यसको खासै उपयोग देखिँदैन। पहिलेदेखि नै नेपालले त्यहाँ महावाणिज्य दूतावास खोल्न जोड दिँदै आएको थियो। परराष्ट्र मन्त्रालयले पछिल्लो समय महावाणिज्य दूतावास खोल्ने र त्यहाँ मन्त्रालयका उपसचिवलाई कार्यवाहक बनाएर राख्ने कार्य गर्दैआएको छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्