Logo

“बादशाह जुट” टिमले किन मागे मुस्लिम समुदायसँग माफी



अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’ को टिमले मुस्लिम समुदायसँग माफी मागेको छ । यही १५ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरले समाजमा जातीय पक्षमा नराम्रो असर पर्न गएकोमा क्षमायाचना गरेको हो ।

२५ असोज नेपाल मुस्लिम संघले फिल्मको निर्माण कम्पनी एच एण्ड वि फिल्मस्लाई चलचित्रको ट्रेलरले जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको भएको र विवादित दृश्य हटाउने माग गर्दै पत्रचार गरेको थियो ।

ट्रेलरमा समावेश दृश्यले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा क्षमायाचना गर्दै निर्देशक जोनी सिंह राणा र निर्माता भोजराज श्रेष्ठ हस्ताक्षरित विज्ञप्ती जारी गरिएको छ । विज्ञप्तीमा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग भेट गरि गम्भीर छलफल गरिएको पनि उल्लेख गरिएको छ । निर्माण टिमले आवश्यक कुराहरु सच्याउने भएतापनि ट्रेलर हेरेर लगाइएको अनुमान फिल्म हेरेपछि विल्कुलै फरक पाउने विज्ञप्तीमार्फत् दाबी गरेको छ ।
आफूलाई बादशाह सम्झने दुई युवकको कथामा आधारित यो चलचित्र हेर्नका लागि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावक लिएर हल जानुपर्नेछ । चलचित्रमा सुशीलसँगै आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको मूलकथा पत्रकार सुशील र हवल्दार आमिरको वरिपरि घुमेको छ । अभिनेत्री प्र्रियंका कार्कीलाई चलचित्रमा अतिथी भूमिकामा देख्न सकिन्छ ।

हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन छ । करीब २ वर्षपछि पर्दामा देखिन लागेका अभिनेता सुशीलको भूमिका चलचित्रमा विल्कुलै फरक रहेको जनाइएको छ । Photo Source: Filmykhabar



प्रतिक्रिया दिनुहोस्