Logo

अब लार्चामै भन्सार



काठमाडौं २९ असोज । सरकारले तातोपानी सुक्खा बन्दरगाहदेखि नेपाल–चीन सीमानाको मितेरी पुलसम्मको क्षेत्रलाई भन्सार क्षेत्र कायम गर्ने तयारी गरेको छ। यस्तो भएमा चिनियाँ मालवाहक गाडी तातोपानीको लार्चास्थित सुक्खा बन्दरगाहसम्म आवतजावत गर्न पाउनेछन्।

अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अधिकारी सम्मिलित टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेका हुन्। टोलीले भन्सार विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उक्त व्यवस्था गर्न सिफारिस गरेको छ।

भन्सार विभागका सहसचिव श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर इन्जिनियर गोविन्दप्रसाद खरेललगायत ६ जना सदस्य सम्मिलित छन्। सन् २०१९ अप्रिल २९ मा नेपाल र चीनबीच पारवहन ढुवानी सम्झौता भएको थियो। उक्त सम्झौताको प्रोटोकलको धारा २ को प्रकरण ४ मा चीनले नेपाली सीमा नाका र सिगात्से सुक्खा बन्दरगाहको बीचमा पारवहन कार्गो ढुवानी गर्न अनुमतिपत्र प्राप्त गरेका र नेपालमा दर्ता भएका सवारीसाधनको आवगमनका लागि स्वीकृति दिने व्यवस्था छ। चिनियाँ पक्षले चिनियाँ मालवाहक सवारीसाधनलाई आवतजावत गर्न अनुमति दिनलाई अनौपचारिक रूपमा अनुरोध गर्दै आइरहेको अधिकारी बताउँछन्।

ट्रान्जिट ट्रान्सपोर्टका फाइदा

चीनले दिने ट्रान्जिट ट्रान्सपोर्टबाट नेपालले कसरी फाइदा लिनसक्छ भन्ने विषयमा टोलीले अध्ययन गरेको थियो। उनीहरूका अनुसार ट्रान्जिट ट्रान्सपोर्टबाट नेपालले धेरै फाइदा लिन सक्छ। उनीहरूका अनुसार चीनको ट्रान्जिट ट्रान्सपोर्टको प्रयोगबाट तेस्रो मुलुकको सामान ल्याउँदा महँगो नपर्ने र छिटो हुनेछ। लान्जाओमा ६ वटा रेलवे १८ वटा मुलुकसँग जोडिएको छ। चीन ओरिजिन कार्गो लान्जाओ भूबन्दरगाह हुँदै नेपाल आउने कन्टेरको संख्या तीन सय छ।

यो बन्दरगाहले अन्तर्राष्ट्रिय कनेक्टिभिटी र ट्रेडमा उल्लेखनीय योगदान पुर्‍याएको छ। यसले ५ सयवटा अन्य पोर्टसँग र एक सय ५० वटा मुलुकसँग सिपिङ लाइनको सम्बन्ध छ। पोर्टको १ प्रतिशत भाग ट्रान्जिटका लागि उपयोग हुन्छ। यो भागबाट करिब एक लाख ६० हजार कन्टेर प्रत्येक दिन ट्रान्जिटका लागि बाहिरिने गर्छन्। आवतजावत हुने कुल कन्टेनरको ३ प्रतिशत ट्रान्जिटका लागि प्रयोग हुने गरेका छन्।



प्रतिक्रिया दिनुहोस्