Logo

भ्रमण बर्षको प्रर्वद्वनमा सुकी नेपाल आउने



काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न म्यानमारको स्टेट काउन्सिलर आङ सान सुकी नेपाल आउने भएकी छन्।

राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमार भ्रमणका क्रममा सुकीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमण तयारी सुरु गरेको हो।

राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमणमा सामेल भएर सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सुकी नेपाल भ्रमण वर्ष प्रवद्र्धनका लागि नेपाल आउन लागेको जानकारी गराए।

राष्ट्रपतिको म्यानमार भ्रमणका बेला दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान गर्न महत्वपूर्ण सम्झौता भएको पनिमन्त्री ज्ञवालीले बताए।

सुकीको नेपाल भ्रमण मिति तय नभए पनि ‘म्यानमारका स्टेट काउन्सिलर सुकीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नुभएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘हामीले उक्त भ्रमणका लागि आवश्यक प्रबन्ध र सुरक्षा मिलाउने छौं।’

आइतबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमणको उद्घाटनमा नेपाली दूतावास रहेका सम्बन्धित देशका पर्यटनमन्त्रीलाई नेपाल ल्याउने घोषणा गरेका थिए।

विश्वभरका ख्यातिप्राप्त नेता, कलाकार तथा सेलिब्रेटीलाई नेपाल बोलाएर उनीहरूको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन गर्ने सोचमा मन्त्रालय रहेको उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस्