Logo

महिला हिंसा अन्त्य गर्न सरकार जिम्मेवार : मन्त्री थापा



काठमाडौं, ६ कात्तिक । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताएकी छिन् ।

बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समिक्षा कार्यक्रमकोे अवसरमा आज, वियोण्ड वेजिङ्ग कमिटिले काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।

उनले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको पनि जानकारी दिईन् ।

स्थानीय तहले सरकारले बनाएको योजनाहरु कार्यान्वयन गर्न सक्यो भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सम्भव रहेको उनको भनाई छ । यस्तै, वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताईन् ।

उनले चौथो विश्व महिला सम्मेलनले विश्वलाईनै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको सुनाईन् । नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्टिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ । जसमा वियोण्ड बेइजिङ्ग कमिटि नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ । पारित गरेको कार्यनितिको बारेमा जानकारी दिन र त्यो कार्यनितिको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिन आज यो राष्ट्रिय समिक्षा गोष्ठी गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्