राजदूत भारद्वाजलाई ओहदाको प्रमाणपत्र प्रस्तुत


काठमाडौँ, ११ कात्तिक : कतारका लागि नवनियुक्त राजदूत डा नारदनाथ भारद्वाजले कतार अधिराज्यका शेख तमिम बिन हमिद अल थानीसमक्ष आइतबार अपराह्न दोहास्थित अमिरी दिवानमा आयोजित विशेष समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे । त्यसपछि भएको शिष्टाचार भेटमा राजदूत भारद्वाजले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट अमिरको सुख, सुस्वास्थ्यको कामनाका साथै कतारका जनताको निरन्तर प्रगतिको कामना गरे ।

गत वर्ष राष्ट्रपति भण्डारीबाट भएको कतार भ्रमणको स्मरण गर्दै राष्ट्रपति भण्डारीले कतारी अमिरलाई नेपालमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको नेपाली राजदूतले अवगत गराए ।दोहास्थित नेपाली दूतावासका अनुसार भारद्वाजले नेपाल–कतार सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा पारस्परिक लाभका निम्ति द्विपक्षीय सहकार्यलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

कतारी अमिरले राजदूत भारद्वाजको कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई प्रगाढ बनाउने नेपाली राजदूतको प्रयासमा सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले राष्ट्रपति भण्डारीको गत वर्षको कतार भ्रमण र गत साता टोकियोमा भएको भेटवार्ताको सन्दर्भ प्रस्तुत गर्दै कतार–नेपाल सम्बन्धलाई अझ बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले कतारको विकासमा नेपालीबाट भएको योगदानको सराहना पनि गरेको थियो । रासस

Skip This

Omoda E5 Pro