ग्रामीण सडक निर्माण हुँदै


रसुवा, १५ कात्तिक  : ग्रामीण भेगका बासिन्दालाई यातायातको पहुँच पुर्याउन सडक निर्माणकार्य क्रमिकरूपमा अगाडि बढिरहेको छ । आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार स्थानीय तहको निर्वाचनपश्चात आफ्नो गाउँपालिकाको वडा नं १ र २ मा करीब १७.५ किलोमिटर ग्रामिण सडक निर्माण भएको र परम्परादेखि बसोबास रहेको स्थानहरूमा क्रमशः सडक सञ्जाल जोड्ने काम अगाडि बढिरहेको छ ।

यसरी निर्माण गरिएको सडकहरूमा हाकुबेँसीदेखि पाङिलङ हुँदै ठूलोहाकु, नेसिङदेखि छोकल, ग्रेगाउँबाट नेसिङ तीन स्थान रहेका छन् । नयाँ खोलिएका सडकअन्तर्गत हाकुबेँसीको त्रिशूली नदीमा पक्की पुल र हाप्चुङखोलामा कल्भर्ट निर्माण गर्न प्रक्रिया अगाडि बढेको छ । पश्चिम रसुवाको मध्यभागमा पर्ने हाकु क्षेत्रमा पहिलोपटक सडक निर्माण भएकाले त्यस क्षेत्रका बासिन्दामा उत्साह बढेको छ ।

प्रत्येक बस्तीमा सडक सञ्जाल जोड्ने नीतिअनुरूप वडा नं ५ को चिलिमेदेखि गोङगाङसम्म सडक निर्माण प्रक्रिया समेत अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत ठूलोहाकु, सानोहाकु, हाकुबेँसी, नेसिङ, ग्रे, स्योगोल्जुङ, च्यान्दोल, गतलाङ, चिलिमे, पाजुङ, केराबारी, तातोपानी, ब्रेम्दाङ, सिम्बु, टेचाङ्देसमेतका १६ भन्दा बढी गाउँ बस्ती रहेको बताइएको छ ।

स्थानीय तहको नामकरणपश्चात शुरूमा पार्वतीकुण्ड स्थापित भए पनि स्थानीय बासिन्दाको मागलाई सम्बोधन गर्दै सरकारले संशोधनमार्फत आमाछोदिङ्मो गाउँपालिका नामकरण गरिएको उक्त क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि, पशुपालनजस्ता क्षेत्रमा सुधार भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

Skip This

Omoda E5 Pro