काठमाडौ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ ।
पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ।
बागमतीका केही स्थान तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बदली तथा तराईमा आंशिक बदली रहनेछ।
हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया