Logo

सदरमुकाम आवतजावतमा झोलुङ्गे पुल निर्माणपछि यात्रा सहज



धम्बोझी, २४ कात्तिक : बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ ।

बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा बबई नदीले बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने हो कि भन्दै अलमलमा रहेका स्थानीयवासी यतिबेला झोलुङ्गे पुल निर्माण भएपछि खुशी भएका छन् । पुरानै ठाउँमा पाँच वर्षभित्रमा निर्माण सम्पन्न भएको आधुनिक झोलुङ्गे पुलले सर्वसाधारणको जोखिमपूर्ण यात्रा हटेको छ । उक्त पुल निर्माणपछि जिल्लाभरिका करीब तीन लाख सर्वसाधारण प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

झोलुङ्ग पुल निर्माणसँगै यस क्षेत्रको समृद्धिमा टेवा पुग्ने मधुवन नगरपालिकाका नगरप्रमुख गणेश क्षेत्रीले बताउनुभयो । “मधुवन र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणले सर्वसाधारणको सपना साकार भएको छ”, उहाँले भन्नुभयो, “वर्षाैँदेखिको जोखिमयात्रा गर्ने सर्वसाधारणको पुल निर्माणपछि जोखिमयात्रा हटेको छ ।”

नवनिर्मित आधुनिक पुलले दोधरा–चाँदनी पुलको झझल्को मेटिने बारबर्दिया–४का वडाध्यक्ष रामबहादुर थारूले बताए । “यो पुलमा पुग्ने जो–कोहीको मन खुशी हुन्छ”, उनले भने, “नदी तटीय क्षेत्रमा निर्माण भएको पुल पाहुनाका लागि आकर्षक गन्तव्य बनेको छ ।”

पुल हेर्न दैनिक युवायुवतीको घुइँचो लाग्ने गरेको छ । उक्त पुलबाट देखिने नदी तटीय दृश्यले पर्यटक आकर्षित हुन्छन् । उक्त पुलको लम्बाइ ५०० मिटर रहेको छ । थानी निर्माण कम्पनीले रु चार करोड ४१ लाख लागतमा निर्माण सम्पन्न गरेको पुल जिल्लाको नमूना र आधुनिक पुल भएको बारबर्दिया नगरपालिकाको प्रमुख दुर्गाबहादुर थारूले बताए ।



प्रतिक्रिया दिनुहोस्