Logo

‘टुटल, पठाओ र सररमाथिको प्रतिबन्ध स्वागतयोग्य’



‘अवैध सवारीसाधनलाई रोक नगरे कडा प्रतिवादमा उत्रिन्छौं’
काठमाडौं, १० मंसिर । अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको टिप्पणी गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको भन्दै सरकारको उक्त कदमप्रति आफूहरुको पूर्ण साथ र समर्थन रहेको पनि उनीहरुको भनाई छ ।

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका अध्यक्ष दुर्गा श्रेष्ठले राज्यले पछिल्लो समय अवैधानिक सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको बताए । उनले भने,‘सरकारको यो कदम देखावटी नभईकन दिर्घकालिन रुपमा समस्या समाधानको निम्ति प्रेरणदायी बनोस् । विधि र कानूनी शासनलाई सबैले आत्मसात गर्नुपर्छ ।’

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि ट्याक्सी चालकहरुको भूमिका के हो ? र राज्यले आफूहरुलाई हेर्ने दृष्टिकोण के हो ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘हामीलाई पनि सरकारले नेपाल भ्रमण वर्ष सफल तुल्याउने महाअभियानमा भूमिका दिनुपर्छ । साथसाथै, अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैर्नौं । सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।’ उनले भाडा समायोजन नभए र अवैध सवारीसाधनले सेवा सुचारु गरे आफूहरुले भ्रमण वर्षलाई असहयोग गर्ने पनि चेतावनी दिए ।

कार्यक्रममा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय महासचिव पूर्ण तामाङले विधिको शासनअनुसार सबै चल्नुपर्ने धारणा राखे । उनले भने,‘टुटल, पठाओ र सरर अवैध रुपमा चलेका छन् । निजी प्रयोजनका सवारीहरुपनि यात्रु ओसारपसारमा लागिरहेका छन् । यो कार्यलाई सरकारले तत्काल बन्द गर्नुपर्छ । हामीले धेरै लामो समयदेखि यसबारेमा ध्यानाकार्षण गराउँदै आएका छौं । हामीसँग सरोकार राख्ने हरेक निकायमा ज्ञापनपत्र बुझाएका छौं ।’

सरकारले पछिल्लो समय चालेको कदम स्वागतयोग्य रहेको उनको भनाई छ । तर, आफूहरु प्रविधिको विरोधी नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘टुटल, पठाओ र सररजस्ताको अवैध धन्दा बन्द हुनुपर्छ । उनीहरु विधिमा आउनुपर्छ ।’ उनले देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल, पठाओ, सरसरलाई केही अवैद्य सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुको स्वार्थ पूरा गराउनको लागि चल्न दिने भनेर मौखिक निर्देशन दिएकोमा भने आपत्ति जनाए ।

उनले भने,‘प्रधानमन्त्रीको यो अभिव्यक्ति र कदम आपत्तिजनक छ । यसले कानूनी राज्यको उपहास भएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यहीँबाट प्रश्न गर्न चाहन्छु–तपाई कानूनअन्तर्गत प्रधानमन्त्री हुनुभएको हो, तर तपाईले अहिले त्यही कानूनलाई कुल्चिनुभयो । मुलुकको कार्यकारी प्रमुखबाटै सुझबुझबिना यस्तो गलत र गैरकानूनी निर्देशन दिनु लज्जास्पद छ ।’

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका जिल्ला ईन्चार्ज सुर्य तामाङले पनि सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज भएको बताए । उनले सरकारले अवैध सवारीसाधनलाई नियन्त्रण तथा प्रतिबन्ध नलगाए आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।

उनले भने,‘सरकारको पछिल्लो निर्णयविरुद्ध भोलि टुटल, पठाओ र सररले विरोध तथा शक्ति प्रदर्शन गर्ने भन्ने सूचना आएको छ, यदि राज्यले उनीहरुलाई नियन्त्रण नगरे हामी पनि उनीहरुको विरुद्धमा शक्ति प्रदर्शन गर्न तयार छौं । राज्यले यसप्रति बेलैमा सचेतता अपनाओस् ।’

त्यस्तै, कार्यक्रममा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय अध्यक्ष सानु पूर्वछानेले टुटल, पठाओ र सररले भोलि गर्ने विरोध प्रदर्शनको विरुद्धमा आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले टुटल, पठाओ, सरर र निजी सवारीसाधनले कर नतिरी आयआर्जन गरेको कडा आपत्ति जनाए ।

उनले भने,‘हामी विधि र विधानअनुसार चल्दै आएका छौं । राज्यले हामीलाई चाहीँ २७ थरीको दोहोरो कर लगाएको छ । वि.स. २०६९ देखि अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन् । हामी ठूलो पीडामा छौं । तर, टुटल, पठाओ र सररलाई आफूखुशी भाडा तोक्ने अधिकार कसले दियो ? यो त दिउँसै लुट हो ।’ आजको पत्रकार सम्मेलनको सञ्चालन उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सचिव टोप खत्रीले गरेका हुन् ।

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको

मिति :  २०७६।०८।१०

संयुक्त प्रेस विज्ञप्ती

अखिल नेपाल यातायात मजदुर संघ विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले विगत लामो समयदेखि ट्याक्सी क्षेत्रमा देखिएका विविध समस्याहरु समाधान गर्न हाम्रो तर्फबाट सरकारलाई विभिन्न समयमा मागपत्र पेश गरेकोबारे सर्वविदितै छ । खासगरी वैज्ञानिक भाडा प्रणाली विकास गरी उचित ढंगले ट्याक्सीको मिटर भाडा समायोजन गर्न र गैरकानूनी ढंगले प्रयोजनविपरित सञ्चालन हुँदै आएका दुई तथा चार पाङग्रे निजी सवारीसाधनहरुउपर प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको व्यहोरा अवगत छ ।

पछिल्लो समयमा माथि उल्लेखित मागहरुको बारेमा सरकारले सकारात्मक रुपले ग्रहण गरी टुटल, पठाओ र सररका नाममा अवैधानिक रुपमा सञ्चालन हुँदै आएका सवारीसाधन सञ्चालन नगर्न यातायात व्यवस्था विभागले २०७६ मंसिर ३ गते सूचना प्रकाशित गर्यो । उक्त सूचना जारी भएपश्चात् पनि अटेर गरेको अवस्थामा हाम्रो समेत संलग्नतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले प्रयोजनविपरित सञ्चालन भएका दुई तथा चार पाङग्रे निजी सवारीसाधनउपर कारबाही सुरु गर्यो । यस सन्दर्भमा हामी यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको कदमलाई स्वागत गर्दै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं ।

सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ बमोजिम रातो नम्बर प्लेटका सवारीसाधनहरुले सार्वजनिक रुपमा यात्रु ओसारपोसार गर्न बन्देज गरेको अवस्थामा टुटल, पठाओ र सररका नाममा गरिएको गतिविधि पूर्णतः गैरकानूनी भएको र उक्त कम्पनीहरुको गतिविधिले लोकतन्त्र र कानूनी शासनको उपहास गरेको यथार्थ आम जनसमूदायमा स्मरण गराउन चाहन्छौं ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित सूचना र समाचारअनुसार टुटल, पठाओ र सररले भोलि मिति २०७६ मंसिर ११ गते दिनको ११ बजे सरकारले चालेको कदमका विरुद्ध सडक शक्ति प्रदर्शन गर्दैछ भन्ने सुन्नमा आएको छ । उक्त कम्पनीमा रोजगारीको नाममा संलग्न युवाहरुलाई कानून आफ्नो मुठ्ठीमा लिएर माथि उल्लेखित कम्पनीहरुले समाजमा दण्डहिनता र अराजकता संस्थागत गर्दै गैरकानूनी धन्धा सञ्चालन गरि अकुत सम्पत्ति आर्जन गर्न उद्धत रहेकोतर्फ सचेत रहन अनुरोध गर्दछौं ।

अन्त्यमा, वर्तमान राज्य व्यवस्था हामीजस्ता हरुकै रगत, पसिनाले प्राप्त भएको हो । लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको पक्षपाती हुनाका नाताले कानूनी रुपमै सरकारले हाम्रो समस्याहरुको निराकरण गर्नेछ भन्नेमा हामी विश्वास व्यक्त गर्दछौं । अन्यथा गैरकानूनी ढंगले व्यवसाय गर्न र धन आर्जन गर्न पाउनुपर्दछ भन्ने उद्देश्यले सडकमा शक्ति प्रदर्शन गर्ने हो भने हामी पनि हाम्रो अधिकार र पेशागत रक्षार्थ भौतिक रुपमै सडकमै आएर प्रतिरोध गर्नपर्ने स्थिति पैदा हुन सक्दछ । त्यस्तो परिस्थिति आउन नदिनको लागि गम्भिर हुन सरकारलाई अनुरोध गर्दै अवैधानिक रुपमा कालोधन आर्जन गर्ने क्रियाशिल तत्वहरुलाई सचेत गराउन चाहन्छौं । उत्पन्न परिस्थितिको सामना गर्न तयार रहन सम्पूर्ण ट्याक्सी व्यवसायी तथा पेशाकर्मी चालकहरुलाई हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

अखिल नेपाल यातायात मजदुर संघ विशेष जिल्ला समिति, काठमाडौं
अध्यक्ष
दुर्गा श्रेष्ठ

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज
अध्यक्ष
सानु पुर्वछाने मगर



प्रतिक्रिया दिनुहोस्