मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, के भयो छलफल ?


मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग भेटवार्ता गरेका छन्। भेटमा मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा छलफल भएको छ।

पराजुलीको सचिवालयका अनुसार भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित र न्यायोचित कार्य वातावरण निर्माणका विषयमा विचार आदानप्रदान भएको थियो।

दुई देशबीच श्रमसम्बन्धी विद्यमान व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आपसी सहकार्य थप विस्तार गर्ने विषयमा पनि छलफल भएको पराजुलीले बताएका छन्।

नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयले समेत भेटमा प्राथमिकता पाएको थियो।

छलफलमा श्रम सहकार्यसँगै पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि कुराकानी भएको जनाइएको छ। नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यसँग जोडेर दुवै देशबीच पर्यटक आवागमन बढाउन सकिने विषयमा विचार आदानप्रदान गरिएको थियो।

त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्दै धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।