Logo

आज विश्व एड्स दिवस, नेपालमा विगतभन्दा अहिलेको अवस्था सुदृढ



काठमाडौं, १५ मंसिर । धादिङ कटुञ्जे स्वास्थ्यचौकीका प्रमुख मधु धमला क्षेत्रीले नेपालमा एचआईभी एड्सको अवस्था विगतको भन्दा अहिले सुधार रहेको स्पष्ट पारेका छन् । यद्धपी उनले नेपालका दुर्गम ठाउँमा एचआईभीसम्बन्धी स्वास्थ्य शिक्षाको चेतनामा कमी रहेको चिन्ता भन्दै चिन्ता  व्यक्त गरे ।

धमलाले अरु रोगहरुजस्तै यो रोग लाग्दा मानिसहरुले खुलेर चिकित्सकको सम्पर्कमा आउन नचाहेको पनि सुनाए । उनले भने,‘यो रोग लागेपछि विरामी खुलेर मलाई यस्तो भयो भनेर चिकित्सक वा अस्पतालको सम्पर्कमा आउनुहुन्न ।यसको मुख्य कारण भनेको नै यो रोगसम्बन्धी जनचेतनाको कमी छ । यसप्रति सरकार, निजी क्षेत्र र सरोकारवाला सबै पक्षले ध्यान दिन जरुरी छ ।

३२ औं विश्व एड्स दिवसको अवसरमा रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै धमलाले नेपालमा सरोकारवाला सबै पक्षले एचआईभी एड्सको शिक्षा गाउँगाउँसम्म पुर्याउनुपर्नेमा जोड दिए । उनकाअनुसार नेपालमा एचआईभीबाट अहिले २९ हजार ९ सय ४४ संक्रमित छन् ।

उनले भने,‘एचआईभी नै लागेर चिकित्सक तथा अस्पतालको सम्पर्कमा रहेकाहरुको संख्या भने अहिले २१ हजार ४ सय ८ देखिएको छ । जसमध्ये १७ हजार ७ सय ३२ पुरुष र १२ हजार २ सय ४२ महिला रहेका छन् ।’धमलाले अहिले नेपालमा १७ हजारको हाराहारीमा यो रोगसम्बन्धी औषधी सेवन गरिरहेको आंकलन सुनाए ।

एचआईभीको लक्षणमा सधैं थकित हुने, घाँटी अथवा गर्दनमा सुनिने, नियमित ज्वरो आईरहने, पखाला लागिरहने, राति पसिना आईरहने, तौल घट्ने रहेको पनि उनले जनाए । त्यस्तै, उनले एचआईभी नै लागेको भनेर थाहा पाउनको लागि चाही रगत परीक्षणबाट नै निश्चित हुने स्पष्ट पारे । धमलाले एचआईभी सर्ने कारण असुरक्षित यौनसम्पर्क, संक्रमित रगतको आदानप्रदान, असुरक्षित र संक्रमितहरुले प्रयोग गरेका सिरिन्ज प्रयोग गर्दा, संक्रमित आमाबाट बच्चामा सर्ने लगायत रहेको सुनाए ।

एड्सबाट बच्ने उपायसमेत धमलाले सुनाएका छन् । उनकाअनुसार सुरक्षित यौन व्यवहार अपनाउने र यौनसम्पर्क राख्ने, सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने, एचआइभी संक्रमित महिला गर्भवती नहुने, यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने, आफ्नो यौनसाथीलाई पनि उपचार गराउने, अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भएरनभएको कुरामा विशेष ध्यान पुर्‍याउने, रगत दिँदा सो रगत संक्रमण भएरनभएको पक्का गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्