Logo

प्रधानमन्त्री ओलीको स्वदेशमै मृगौला प्रत्यारोपण हुने



काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमिति हेमोडायलसिस गर्दै आएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि डायलसिस विगतमा भन्दा बढी पटक गर्नुपर्ने भएको छ ।

चिकित्सकहरुले नियमित डायलसिसभन्दा मृगौला प्रत्यारोपणमा सुझाव दिएपछि ओली विकल्पमा जाने निर्णयमा पुगेका छन् । त्यसका लागि उनको निकट नातेदारहरुको मिल्ने मृगौलाको जाँच गरिएको छ । नातेदारहरु मृगौला दिन तयार भएपछि कहाँ मृगौला प्रत्यारोपण गर्नेबारे छलफल समेत भएको छ । चिकित्सकहरुको राय सल्लाहबीच ओलीले देशभित्रै मृगौला प्रत्यारोपण गर्ने इच्छा व्यक्त गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार देशभित्रै पर्याप्त प्रविधि र अनुभवी चिकित्सक भएकाले ओलीले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने गरेका हुन् । उनले पछिल्लो समय स्वदेशमै चेकजाँच र उपचार गर्दै आएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया सफल बनाएर देशभित्र नै चिकित्सकले राम्रो उपचार गरेपछि ओली उत्साही भएका हुन् । उपचारमा संलग्न डा. अरुण सायमीले ‘जीवन र मरणको दोषाधमा’ अस्पताल पुगेका प्रधानमन्त्री अ‍ोलीको शल्यक्रिया सफल बनाइएको बताइसकेका छन् ।

ओलीको अबको उपचार कसरी गर्ने र मृगौला प्रत्यारोपण देशभित्र कहाँ गर्नेबारे भने अन्तिम टुंगो लागिसकेको छैन । उनले चिकित्सकसँग यसबारे राय लिइरहेको बुझिएको छ । ओलीको घाऊ निको हुँदै गएको र केही दिन आरामपछि यसबारे टुंगो लगाइने बुझिएको छ ।

यसअघि गत मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । ओलीलाई शुरुमा भेन्टिलेटरमा र त्यसपछि आइसीयूमा राखिएको थियो ।

ओली लामो समय देखि मृगौलाको समस्यामा थिए । उनको १४ वर्ष अघि नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । उनले विदेशमै चेकजाँच गराउँदै आएका थिए । विगतमा नयाँ दिल्लीमा चेकजाँच गराउने गरेकोमा पछिल्लो समय सिंगापुर पुग्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्