Logo

होसियार ! सामाजिक संजालमार्फत हुँदैछ डरलाग्दो ठगी



काठमाण्डौ । तपाईहरु जो कोही पनि सामाजिक संजाल चलाउनुहुन्छ होला । होस गर्नुस् । ख्यालख्यालैमा ठगिन सक्नुहुन्छ । सामाजिक संजालमा कुरा गर्ने बहानामा विभिन्न प्रलोभन देखाई पैसा ठगी गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी करोडौं रकम ठगीका साथै बैंक तथा वित्तिय संस्था ह्याक गर्ने लगाएत ठगिका घटना बढ्दै गएको छ । बुधबार महानगरिय अपराध महासाखाले भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरिय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ । अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल मार्फत ठगिधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको प्रहरीको भनाई छ । नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको छ ।

प्रहरीका अनुसार ३४ जना नेपालीहरु अनलाइन ठगिमा संलग्न रहेको र १५ जना अनलाईनबाट ठगि पीडितहरु प्रहरीको संम्पर्कमा आएका छन् । एजेण्टहरुले ठगि गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्