Logo

त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियानमा जोड



जनकपुरधाम, २७ मङ्सिर : जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ ।

आगामी पुस १२ देखि १६ गते पोखरामा हुने २१औँ पोखरा सडक महोत्सवका सन्दर्भमा आज यहाँ आयोजित सञ्चारकर्मीसँग छलफल कार्यक्रममा उक्त अभियानमा जोड दिइएको हो । धार्मिक पर्यटकीय प्रवद्र्धनका दृष्टिले जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिर महत्वपूर्ण तीर्थस्थल भएकाले तीनवटै स्थललाई पर्यटक यात्रा प्याकेजका रूपमा प्रवद्र्धनमुखी अभियान सञ्चालन आवश्यक भएको स्पष्ट गरिएको छ ।

जनकपुरधाम मिथिला संस्कृतिको उद्गमस्थल भए पनि अन्तरदेशीय पर्यटक यात्रा प्याकेजअन्तर्गत नरहेका कारण जनकपुरधाममा तीर्थयात्रीको बसाइ न्यून हुने भएकाले त्रिस्थलीय पर्यटक यात्रा प्याकेज कोसेढुङ्गे साबित हुने विश्वास गरिएको छ । विगतमा जनकपुर–पोखरा र पोखरा–जनकपुर विमानस्थल तथा स्तरीय बस सञ्चालनको बहस गरिए पनि सार्थकता ग्रहण नगरिएका कारणको समीक्षा गर्दै यसलाई मूर्तरूप दिन दुवै नगरबीच पर्यटक प्रवद्र्धनको गतिविधिलाई तीव्रता दिन आवश्यकता महसुस गरिएको छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) द्वारा आयोजित छलफल कार्यक्रममा पर्यकीटकीय गतिविधिलाई चलायमान बनाउन र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न आयोजना हुने पोखरा सडक महोत्सवमा मिथिलाको संस्कृति र कलाको प्रदर्शनमा पनि जोड दिइएको छ । रेबानद्वारा आयोजना हुने सडक महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, लोकदोहोरी, कन्सर्ट र रत्यौली गीत प्रतियोगिता हुने कार्यक्रम छ ।

महोत्सवका सहसंयोजक नरेश भट्टराईले मुलुकभित्र हुने मेला महोत्सवमध्येमै सबैभन्दा धेरै पाहुना सहभागी हुने पोखरा सडक महोत्सव नै भएकाले महोत्सवमा सातवटै प्रदेशका सांस्कृतिक, धार्मिक र कला पक्षको प्रदर्शन गर्ने योजना रहेको बताउनुभयो । एसोसिएशनका पूर्वअध्यक्ष गोपिबहादुर भट्टराईले आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने ध्येयसमेत महोत्सवको भएकाले सातै प्रदेशका पर्यटकको उपस्थिति, अवलोकन र प्रचारप्रसारलाई प्राथमिकतामा राखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्