Logo

विवाह गरौं भनेपछि हत्या



ताप्लेजुङ, पुस १४ । मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन्। घर कसिंगर गरिन्। आगो जोडिन्। चिया पकाइन्। अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन्। सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले उठेर बोलाउँदा आमा दंग परिन्।

दिउँसो दिदी एलिसा, मन्दिरा र आमा तिनैजना मिलेर आगनकै खलोमा मास कुटे। बुवा नन्दकुमार कामको सिलसिलामा सदरमुकाम फुङलिङ गएका थिए। भोलिपल्ट छिमेकीको पर्म तिर्न जानुपर्ने थियो। बेलुका खाना खाने क्रममा आमाले मन्दिरालाईं भनेकी थिइन्, ‘दिदी र म बाँकी मास कुट्छौं, तँ मेला जा है।’ खाना खाएर ‘हुन्छ’ भन्दै निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी १९ वर्षिय मन्दिरा हालसम्म बेपत्ता छिन्।

मन्दिरालाई बेपत्ता पारेको अभियोगमा दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबिच प्रेम सम्बन्ध रहेको खुलेको छ। रमेशले बयानमा मन्दिराको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको ाछ। ‘मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो। उसले बिहे गरौं भनेर दबाब दिइरहेको थियो। हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो। त्यसैले मारिदिएँ’, रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ। मन्दिराको शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ।

काका चन्द्रका अनुसार मन्दिरा बेपत्ता भएकै दिन दिदी एलिसाको फेसबुकमा झापाको हल्दीवारीस्थित नारायण पौडेलको छोरा दिपकसँग विवाह गरेको भनेर मन्दिराको फेसवुकबाट मेसेज आएको थियो। त्यसपछि परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगेका थिए तर भेटेनन्।

मन्दिरालाई बेपत्ता पारेको अभियोगमा पक्राउ परेका रमेश अधिकारी। तस्बिर स् सीताराम गुरागाईं

दिदीकै फेसवुकमा फेरि दलित थरका युवकले आफूलाई भारत पुर्‍याएको भनेर अर्को मेसेज आयो। सो मेजेस रमेशले पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। वेपत्ता भएकै दिन चोकपुरस्थित उनको घरबाट करिव ४० मिनेटको पैदल दुरीमा रहेको तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरी पुलबाट नदीमा फालिदिएको रमेशले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्