Logo

सभामुखमा ओलीलाई नेम्वाङ नभई नहुने, प्रचण्ड मान्दै नमान्ने



काठमाडौं, १६ पौष । सभामुखमा सुवासचन्द्र नेम्वाङको पक्षमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अडान लिएपनि अर्का अध्यक्ष प्रचण्ड सहमत हुन सकेनन् । पटक पटकको संवाद पछि पनि नेम्वाङको पक्षमा सहमति जुट्न नसकेको हो ।

ओली नेम्वाङको पक्षमा अडिग रहेका छन् भने प्रचण्ड टसमस भएका छैनन् । पटक पटक एकै व्यक्तिलाई अवसर दिन नहुने भन्दै नेकपाभित्र केही नेताहरु नेम्वाङको विपक्षमा उभिएका छन् । प्रचण्ड पनि विगतमा आफ्नो पक्षको कृष्णबहादुर महराले पाएको पद आफ्नै पक्षले पाउनुपर्ने अडान लिइरहेका छन् । उनी अग्नि सापकोटा या देव गुरुङको पक्षमा उभिएका छन् ।

सभामुखमा ओली र प्रचण्डको आ आफ्नो अडानले संसदको हिउँदे अधिवेशन समेत प्रभावित भएको छ । दुई पटक सूचना टाँस गरेर संसद बैठक स्थगित गरिएको छ । संसदमा कतिपय विधेयक अगाडि बढ्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । हिउँद आधा आधी सकिइसक्दा संसद सुचारु हुन नसक्नुमा नेकपाका दुई अध्यक्षको सभामुख आफ्नो पक्षधरलाई दिलाउने शक्तिसंघर्ष नै हो ।

सभामुख पद संवैधानिक आयोगको नियुक्तिसँग पनि जोडिएको छ । आयोगमा नियुक्ति गर्दा सभामुखको पनि भूमिका हुन्छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक आयोगमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता रहने व्यवस्था छ । कोरम पुर्याउन सभामुख महत्वपूर्ण हुनेछन् । यसकारण पनि ओली र प्रचण्डको यसमा आफ्नो पक्षधरलाई बनाउने जोडबल चलेको हो ।



प्रतिक्रिया दिनुहोस्