Logo

जेल छलेर विदेशतिर



काठमाडौँ, ५ माघ । प्रहरीको खोजी सूचीमा थिए, मोरङ पथरीशनिश्चरे १० का ३८ वर्षीय विनोद घिमिरे र ४० वर्षीय हरि भनिने हिरण्यबहादुर मगर। जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले तीन/तीन वर्ष जेल सजाय सुनाएपछि उनीहरू १८ वर्षदेखि फरार थिए। घिमिरेबाट पीडितलाई आधा अंश दिलाउने फैसलासमेत २०६९ माघ ४ गते भएको थियो।

भोजपुर साङपाङकी २० वर्षीया युवती २०५८ फागुन २१ गते बिहान साबिक बयरवन गाविस(९ को जंगलमा सामूहिक बलात्कारमा परेकी थिइन्। त्यही बेला पक्राउ परेका पथरीशनिश्चरे(१० का जीवन कटुवाल, विष्णु खतिवडा र जीवन राई तीन/तीन वर्ष कैद सजाय भुक्तान गरी छुटिसकेका छन्। मुख्य दोषी घिमिरे र मगर भने पक्राउ परेका थिएनन्। इलाका प्रहरी पथरी प्रमुख डीएसपी दिलीप गिरीले अदालतले पठाएको फरार प्रतिवादीको लगत हेरे। त्यसमा घिमिरे र मगरको नाम समावेश थियो। गिरी नेतृत्वकै टोलीले दुवै जनालाई पक्राउ गर्‍यो। तर, सामूहिक बलात्कारपछि फरार रहेका दोषी दुवै वैदेशिक रोजगारीमा गएर फर्किएको खुलेको उनी सुनाउँछन्। उनका अनुसार दोषीहरू पटक(पटक विदेश आउजाउ। प्रहरीबाट छलिँदै उनीहरू भारत, दुबई, साउदी अरब र कतारसम्म पुगेको खुलेको उनी सुनाउँछन्। घटनालगत्तै भारत भागेका घिमिरेले दिल्ली पुगेर गाडी धुने काम गरे। कोलकातामा तीन वर्ष चलचित्र हलमा झाडु लगाउने काम गरेपछि २०६३ मा फर्किएर दुबई गएको खुलेको उनको भनाइ छ। ‘तीन वर्ष दुबईमा बिताएर नेपाल फर्किएपछि बिहे गरेछन्’, उनी भन्छन्, ‘बिहे गरेर दुबई छिरेका उनी डेढ वर्षपछि नेपाल फर्किएर साउदी पुगे।’ साउदीबाट २०७१ मा फर्किएर विदेशमा कमाएको पैसाले पथरीशनिश्चरे १ मा कार्पेट पसल सञ्चालन गरे। त्यहींबाट पक्राउ परेका घिमिरेका श्रीमती र एक छोरी छन्।

औरहीमा तीन वर्ष लुकिछिपी बसेका मगरले भने २०६१ मा बिहे गरे। मिस्त्री काम गर्ने उनी २०६२ मा कतार गएर २०६६ मा फर्किए। उनी गाउँबाटै पक्राउ परे। उनका श्रीमती कुवेत र छोरा पथरीशनिश्चरेमै छन्। दुवै दोषीलाई कैद सजाय भुक्तानका लागि अदालतले बिहीबार कारागार चलान गरेको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्