Logo

‘सल्लाहमै त्रिशूलीमा हेलियौं’



काठमाडौँ, ५ माघ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन्। खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ/दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए। पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए।

संयोगले बाँचेका विनय अहिले इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन्। प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात/आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको बताएका छन्। विनयलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रेग्मीले भने, ‘एक वर्षदेखि बिजनेसमा डेढ करोड रूपैयाँको घाटा बेहोर्नुपरेपछि तनावैतनावमा दिन बिताउँदै आइरहेको थिएँ।’ सापटी दिएकहरूले फोन गरेर चर्को मानसिक तनाव दिएको र आफ्नो अंश लाग्ने सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसक्ने अवस्था आएकाले आत्महत्याको निर्णय लिएको विनयले प्रहरीसँग बताएका छन्।

बाबुआमा नभएपछि नाबालक छोराहरु बिचल्लीमा पर्ने भएकाले उनीहरुसहित पतिपत्नी नदीमा हेलिएको बयान विनय लामिछाने दिएका छन्। परिवारका अन्य सदस्य गुमाएर आफू बाँचेकोमा उनले पछुतो मानेका छन्। आफूहरू नभएपछि नाबालक छोराहरू बिचल्लीमा पर्ने भएकाले उनीहरूसहित पतिपत्नी नदीमा हेलिएको बयान विनयले दिएका छन्। विनयले तीन पृष्ठको ‘सुसाइड नोट’ लेखेर घरमा छाडेका थिए। ‘यो पढ्नुहोला’ शीर्षकमा हरियो अक्षरमा लेखिएको सुसाइड नोटमा आत्महत्या रोज्नुको कारण उल्लेख छ। गत वर्षदेखि व्यापार निकै खस्केको, सापटी दिएका मानिसले फोन गरेर चर्को मानसिक तनाव दिएको र ऋण तिर्न सक्ने अवस्था नभएकाले मृत्युवरण गर्ने निर्णय गरेको सुसाइड नोटमा लेखिएको छ। परिवार नै मास्ने योजना बनाएका विनयले १३ जना आफन्त, चन्द्रागिरि, सिद्धेश्वर र नवीन सहकारीलाई ५० हजारदेखि १५ लाख रूपैयाँसम्म तिर्न बाँकी रहेको पनि सुसाइट नोटमा उल्लेख छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्