Logo

हिमपहिरोमा बेपत्ताको जमिनबाट खोजी कठिन



काठमाडौँ, ६ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ।

रेक्को डिभाइसले हराएकाहरूको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए। सिम्रिक एयरका पाइलट आनन्द थापा उद्धार टोलीका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी शेर्पा र पौडेलसहितको टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खोलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिए। रेक्को हराएका मानिस खोजी गर्ने विशेष यन्त्र हो। स्विट्जरल्यान्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहितको टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो। हिङ्कु खोला क्षेत्रमा ठूलो हिमपहिरो रहेको पनि उनले बताए। सोमबार पनि यही प्रक्रियाअनुसार फेरि खोजी गरिने उनले बताए। मौसमका कारण जमिनबाट खोजी गर्न सकिएको छैन। शनिबार बेलुकी फेरि हिमपात भएकाले पुनः पहिरो गएको र आइतबार दिउँसो १२ बजेदेखि पुनः हिम परेकाले खोजीकार्य अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।

ठूलो हिमपहिरो गएको र पहिरो गएको ठाउँ साँघुरो र जोखिमयुक्त भएकाले जमिनबाट खोजी गर्न कठिन भएको टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष हरि भुजेलले बताए। प्रहरी र स्थानीय बासिन्दा पहिरो क्षेत्रतर्फ रहे पनि हिउँ परिरहेकाले खोजीमा समस्या परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। ली मिन सु, किम सुक जा, जोङ पिल बोङ र चोई ह्यो वोन गरि चार जना कोरियाली र नेपाली पथप्रदर्शक सरोज परियार र २ सहयोगी मिनबहादुर लामा (तामाङ) तथा छिरिङ भोटे पहिरोपछि सम्पर्कविहीन छन्।

चार चिनियाँ सम्पर्कमा

अन्नपूर्ण फेरोको पदयात्रा जाने क्रममा मनाङबाट सम्पर्कविहीन भएका दुई महिला र दुई पुरुष गरि ४ जना चिनियाँ पर्यटक सम्पर्कमा आएका छन्। उनीहरू मुस्ताङबाट थोरङ पास हुँदै मनाङ झरेर पदयात्रा पूरा गरी पोखरा आइसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। मनाङ निस्याङ गाउँपालिका–९ स्थित एक्याप चेकपोस्टमा पुस २७ गते इन्ट्री भएका उनीहरू शनिबारसम्म सम्पर्कमा नआउँदा प्रहरी र स्थानीयले खोजी गरेका थिए।

एक्याप प्रमुख राजकुमार गुरुङले ४ विदेशी पर्यटक र ३ नेपालीसहित ७ जनाबाहेक अन्य हराएको सूचना नआएको बताए। अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने पर्यटकको अवस्थाबारे विभिन्न चेक पोस्टबाट जानकारी लिइरहेको र थप पर्यटक हराएको सूचना नपाएको उनले बताए। यो सिजनमा सबैभन्दा धेरै नेपाली र विदेशी गरेर सयदेखि डेढ सयको हाराहारीमा अन्नपूर्ण आधार शिविर जाने गरेको उनले बताए। अन्नपूर्ण फेरोको पदयात्रामा दैनिक १५/२० जना जाने गरेको मनाङको धारापानी चेकपोस्टकी सुमी गुरुङले जानकारी दिइन्। उनीहरूलाई पुस र माघ महिनामा जोखिम क्षेत्र तिलिचोको पदयात्रामा जान रोक लगाइएको पनि उनले सुनाइन्।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्