Logo

सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेमा कुनै हालतमा छोड्दिन : केपी ओली



माघ १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस भन्ने चाहाना भएपनि कोही फेला परेमा कारवाहीको भागिदार हुने बताएका हुन् ।

विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रयासरत रहेको बताउँदै उनले सरकारले गरेका काममा पार्टीले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पार्टीको निर्देशन अनुसार सरकारले पनि काम गर्ने प्रतिवद्धता जनाएका ओलीले तल्ला तहका कमिटीहरुमा पनि पार्टी र सरकारको समन्वय आवश्यक रहेको बताए ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीले १६ सिट जितेको र नेकपाले समर्थन गरेको दलले पनि २ सिटमा जित हात पारेको प्रशंग उल्लेख गर्दै ओलीले यो जितलाई भने शिखरका रुपमा लिन नहुने बताए ।

“यसलाई प्रारम्भको रुपमा लिनुपर्छ । यो हाम्रो विकासको सिढीँ हो । शिखर होइन् ।” ओलीले भने ।

पार्टीको पाँच दिने बैठक उपलब्धि मुलक भएको उल्लेख गर्दै आगामी बैठकहरुमा वैचारिक छलफललाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले बैठकमा बोक्सी विरुद्धको अभियान, छुवाछुत विरुद्धको अभियान, छोराछोरी पढाउने अभियानका सन्दर्भमा सशक्त भएर अगाडी बढ्न अखिल नेपाल महिला संघ लगायत पार्टीका भातृ संगठनहरुबाट सुझाव आएकाले त्यसैअनुसार पार्टीले अभियान सुरु गर्ने पनि बताए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भिर रहेको दावी गरे । ओलीले चीनको प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफलहरु जारी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सफलतापूर्वक सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी एकजुट भएर अगाडी बढेको सन्देश दिएको पनि दावी गरे । तर पार्टीले एकताको सन्देश दिएको समयमा केही सञ्चारमाध्यमहरुले पार्टीभित्र गुट उपगुट छ भनेर अपमानित गरेको ओलीको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्