Logo

सरकारले फेरि भन्यो : एक हप्ताभित्र चीनबाट नेपाली उद्धार गर्छौं



काठमाडौं, २७ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चीनको वुहानमा बन्धकको अवस्थामा रहेका एक सय ८० जना नेपालीहरुको उद्धारको लागि सम्पूर्ण तयारी भैसकेको स्पष्ट पारेका छन् । उनले अबको एक साताभित्रै चीनबाट नेपालीहरुलाई स्वदेश ल्याईने घोषणा गरे ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘हामीले सबै तयारी गरिसक्यौं । एक साताभित्र नेपालीहरुलाई स्वदेश फर्काउँछौं । क्वारेन्टाईनको लागि यसअघि घोषणा गरिएका ७ वटा ठाउँ नै यथावत छ । सरकारले यदि कुनै अवरोध खडा भए आवश्यक कदम चाल्छ ।’

परराष्ट्र मन्त्रालयले चीनबाट नेपालीहरु फिर्ता गराउनको लागि आवश्यक कदम चाल्ने, पर्यटन मन्त्रालयले जहाज पठाउने र नेपालमा ल्याईसकेपछि क्वारेन्टाइनको व्यवस्था भने स्वास्थ्य मन्त्रालयले गर्ने उनको भनाई छ । स्वास्थ्य सचिव खगराज बरालले पनि नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउनको लागि पहल सुरु भैसकेको स्पष्ट पारे ।

आजमात्रै चीनमा बन्धक अवस्थामा रहेका नेपालीका अभिभावकहरुले तत्काल आफन्तहरुलाई स्वदेश फिर्ता गर्नको लागि सरकारले कदम चाल्नुपर्ने माग गरेका थिए । चीनमा रहेका विद्यार्थीहरुले समेत आफूहरु कोरोना भाईरसको संक्रिमत नभएकोले तत्काल उद्धार गरियोस भन्ने विलौना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्