Logo

११७ मुलुकसँग व्यापार घाटा



काठमाडौँ, १३ फागुन । नेपालले वैदेशिक व्यापार गरिरहेकामध्ये १ सय १७ मुलुकसँग घाटा रहेको देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ सय ४९ मुलुकसँग व्यापार गर्दै आएको छ । त्यसमा ३२ मुलुकसँग मात्रै व्यापार नाफा छ ।

त्यो नाफा पनि न्यून छ । ‘६ मुलुकमा निर्यात मात्रै भयो । आयात नहुँदा नाफा देखिएको हो,’ विभागका प्रवक्ता शिशिर घिमिरेले भने । केही युरोपियन मुलुकमा गलैंचा र पश्मिनाको माग बढेको छ । जसले गर्दा पनि नाफा देखिएको छ । नाफा भएका मुलुकमध्ये सबैभन्दा बढी अल्जेरियासँग छ । यो मुलुकसँग ७ करोड ७४ लाख रुपैयाँ, डेनमार्कसँग ६ करोड ६६ लाख रुपैयाँ, माल्दिभ्ससँग २ करोड २१ लाख र क्यामरुनसँग १ करोड रुपैयाँ व्यापार नाफा छ । यीबाहेक अन्य मुलुकसँग भने लाखको तहमा व्यापार नाफा छ ।

प्रमुख मुलुकसँगको व्यापार अवस्था सन्तोषजनक छैन । मुलुकको मुख्य व्यापार रहेको भारतसँग मात्र ४ खर्ब ५१ अर्ब ८ करोड व्यापार घाटा छ । विभागको तथ्यांकअनुसार ७ महिनामा ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएकोमा ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा पनि १ खर्ब ३१ अर्ब ५६ करोड रुपैयाँ छ । विभागको तथ्यांक अनुसार ७ महिनाको अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात भएकोमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । यीबाहेक इन्डोनेसियासँग २१ अर्ब ५३ करोड, यूएईसँग १२ अर्ब ३८ करोड रुपैयाँ, अमेरिकासँग ५ अर्ब ९८ करोड रुपैयाँ व्यापार घाटा छ । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्