Logo

पेट्रोल खानी छ, उत्खनन् छैन



काठमाडौँ, २ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी जंगलछेउ ‘पेट्रोल खानी जाने बाटो’ लेखिएको बोर्ड छ। यसले संकेत गरेतर्फ जाँदा सात किलोमिटर दक्षिणतिर बस्तीबीच तारजालीले बारेको झाडीमा पुगिन्छ। पाँच बिघामा फैलिएको यस क्षेत्रलाई पेट्रोल खानी भनिँदै आएको छ।

मुख्य प्रेवशद्वारमा ढाट बनाइएको छ। त्यसको केही मिटरभित्र झाडीबीच सिमेन्ट प्लास्टर गरेको (भलिबल कोर्टजत्रो) स्थानमा अमेरिकी कम्पनी सेलले २०४५ सालमा पेट्रोलियम पदार्थको अन्वेषण गरेको थियो। त्यसको रिपोर्ट सरकारले अझै सार्वजनिक गरेको छैन। सेलले राधानगरमा ३४ सय ४० मिटर गहिरो ड्रिल गरेको थियो। बेलबारी नगरपालिका–८ राधानगर र बाहुनीमा पर्ने यो ठाउँ उद्योग मन्त्रालयको संरक्षणमा छ। ठूलो क्षेत्र ओगटेर राखे पनि सेलले ड्रिल गरेको ठाउँलाई प्लास्टर गरेर सुरक्षित राख्ने कामबाहेक पुनः अन्वेषण र उत्खनन भने गरिएको छैन।

‘पेट्रोल खानीको सम्भावना नेपालमै छ भन्ने लाग्छ। धेरै वर्षअघि अन्वेषण पनि भएको रहेछ’, राधानगरका रमेश अधिकारी भन्छन्, ‘त्यसपछि सरकारले चासो नदिँदा यो ठाउँ झाडी भएको छ।’ उनका अनुसार पेट्रोल खानी छ रे भन्दै दैनिक सयको हाराहारीमा हेर्न आगन्तुक आउने गरेका छन्। हेर्न आउनेले धेरै प्रश्न गर्ने गरेको स्थानीय पम्फा लिम्बू सुनाउँछिन्। ‘सरकारले किन अन्वेषण नगरेको भन्दै अन्योल भएर फर्कन्छन्’, उनी भन्छिन्, ‘नागरिकको चासो छ, सरकारको छैन।’ सेल कम्पनीले बनाएको गोदाम र सिमेन्टलगायत सामान लथालिंग छ । (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्