Logo

फाँसी दिनुअघि बलात्कारमा दोषी पतिमाथि पत्नीले हालिन् डिभोर्स मुद्दा



एजेन्सी, ५ चैत्र । निर्भया सामूहिक बलात्कार काण्डमा दोषी ठहरिएर फाँसी दिइन लागेका अक्षयकुमार सिंहविरुद्ध उनकी पत्नी पुनिता सिंहले डिभोर्स मुद्दा दायर गरेकी छिन् । उनले आफू फाँसीको सजाय पाउन लागेका सिंहको विधवा बनेर बस्न नसक्ने भन्दै मुद्या दायर गरेकी हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार पुनिताका नौ वर्षका छोरा छन् । उनले सोमबार औरंगावाद अदालतमा मुद्दा दायर गरेकी हुन् । ३६ वर्षीय पति अक्षयकुमार औरंगावादका स्थायी बासिन्दा हुन् । आठ वर्ष अघि दिल्लीमा भएको निर्भया बलात्कारकाण्डमा उनी दोषी ठहरिएर २० मार्चमा फाँसी दिइने तय भइसकेको छ ।

फाँसीको अघिल्लो दिन भोलि डिभोर्स मुद्दाको सुनुवाई मिति तोकिएको छ । पुनितासँग अक्षयले २९ मे सन् २०१० मा विवाह गरेको उल्लेख छ । उनीहरुबाट प्रियान्सु नामका छोरा सन् २०११ मा जन्मिएका थिए ।



प्रतिक्रिया दिनुहोस्