Logo

कोरोना भाइरसः चीनलाई उछिन्दै अमेरिका



एजेन्सी, १३ चैत्र । यसरी नै कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए यसै हप्ता चीनलाई अमेरिकाले उछिन्नेछ । चीनमा संक्रमितको संख्या ८१ हजार कटेको छ । अमेरिकामा एकै दिन दश हजार संक्रमित भेटिएपछि संख्या बढेर ६८ हजार पुगेको हो । चीनमा नयाँ संक्रमितको संख्या न्यून देखिएको छ । उसले कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरिसकेको छ ।

अमेरिकामा सबैभन्दा खतरनाक अवस्था न्युयोर्कमा छ । त्यहाँ संक्रमितको संख्या ह्वात्रै बढेको छ । अमेरकामा एक हजार ३२ व्यक्ति कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेका छन् । जुन चीनमा ज्यान गुमाएकाको तुलनामा तीन गुना कम हो ।

अर्को रोचक पक्ष भनेको चीनको हुबई प्रान्तमा बुधबार कुनै नयाँ संक्रमित भेटिएको तथ्यांक छ । हुबईको वुआन क्षेत्र कोरोना भाइरसको उद्गमस्थल मानिन्छ । त्यहाँ तीन महिना अघि संक्रमण पत्ता लागेको थियो ।

विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र भएका मुलुकबीच कोरोना भाइरसको विषयमा शितयुद्ध नै चलेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरसलाई चाइनिज भाइरस भनेपछि चीनले माफी माग्न भनेको थियो । चिनियाँ कुटनीतिज्ञले पनि अमेरिकी सैनिकले भाइरस फैलाएको आरोप लगाएका थिए । दुई देशबीच आरोप प्रत्यारोप भइरहँदा चीनलाई अमेरिकाले भाइरस संक्रमितको संख्यामा उछिन्न लागेको हो । शनिबारसम्म अमेरिकाले चीनलाई संक्रमितको संख्यामा उछिन्ने आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्