Logo

कोरोना भाइरसः अमेरिकाले चीनलाई संक्रमित संख्यामा उछिन्यो



एजेन्सी, १४ चैत्र । तीन महिनाअघि चीनमा पहिलोपटक कोरोना भाइरस देखापरेर फैलिएको केही हप्तासम्म अमेरिकामा कसैमा पनि संक्रमण भेटिएको थिएन । चीनमा संख्या बढेर ८० हजार कट्यो । त्यस अवस्थामा अमेरिकामा केही सयमा मात्र संक्रमण भेटिएको थियो । तर, ठिक तीन महिनाको अवधिमा अमेरिकाले कोरोना भाइरस संक्रमितको संख्यामा चीनलाई उछिनेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८२ हजार ४ सय ४ संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ८१ हजार ७ सय ८२ र इटालीमा ८० हजार ५ सय ८९ संक्रमित संख्या पुगेको छ । मृतक संख्यामा भने इटाली अगाडि छ ।

संक्रमित संख्यामा चीनलाई उछिनेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छिट्टै सामान्य अवस्थामा फर्कने बताएका छन् ।
अमेरिकामा सबैभन्दा खतरनाक अवस्था न्युयोर्कमा छ । त्यहाँ संक्रमितको संख्या ह्वात्रै बढेको छ ।

विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र भएका मुलुकबीच कोरोना भाइरसको विषयमा शितयुद्ध नै चलेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरसलाई चाइनिज भाइरस भनेपछि चीनले माफी माग्न भनेको थियो । चिनियाँ कुटनीतिज्ञले पनि अमेरिकी सैनिकले भाइरस फैलाएको आरोप लगाएका थिए ।

यसैगरी, अमेरिकामा कोरोना भाइरसको संक्रमणले बेरोजगारी बढेको छ । अमेरिकाको इतिहासमा पहिलोपटक ३३ लाख मानिसहरुले बेरोजगार भत्ताको आवेदन दिएका छन् ।

सीएनएनका अनुसार गत हप्ता ३३ लाख मानिसहरुले आवेदन दिएका छन् । यो अमेरिकाको इतिहासमै पहिलोपटक यति धेरै मानिसले बेरोजगार भत्ताका लागि आवेदन दिएका हुन् । सन् १९६७ बाट अमेरिकाको श्रम विभागले तथ्यांक सुरक्षित राख्न थालेयता २ अक्टोरबर सन् १९८२ मा झण्डै सात लाख मानिसले बेरोजगार भत्ताका लागि आवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्