Logo

नेपालमा कोरोना संक्रमित चारैजना विदेशबाट फर्किएका



काठमाडौं, १२ चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको चारैजना विदेशबाट फर्किएका हुन् । आजसहित पत्ता लागेका चारजनामध्ये दुईजना वैदेशिक रोजगारीका लागि खाडी राष्ट्रबाट फर्किएका हुन् । बाँकी दुईजनामध्ये एकजना अध्ययनका लागि फ्रान्स र अर्का व्यक्ति चीनबाट फर्किएका हुन् ।

चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचाररत छन् । ३४ वर्षीय ती पुरुष दुबईबाट एक हप्ता अगाडि फर्किएका हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएको बुझिएको छ ।

कोरोना भाइरसका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए ।
दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्