Logo

कोरोना भाइरस: टेकुमा उपचाररतको स्वास्थ्यमा उल्लेख्य सुधार



काठमाडौं, १४ चैत्र । कोरोना भाइरस संक्रमित भई उपचाररतमध्ये दुईजना टेकुस्थित शुक्रराज अस्पतालमा छन् । दुवैजनाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बुझिएको छ ।  युवक र युवती दुवैजनाको ज्वरो नभएको र साधारण खोकीमात्र भएको अस्पतालले जनाएको छ ।

अस्पतालले दुवैजनाको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकाले परीक्षणपछि पूर्ण रुपमा कोरोना भाइरस संक्रमण मुक्त भएको निश्चित भएपछि घर पठाइने बुझिएको छ ।

टेकुस्थित शुक्रराज इपियोडियोमोलोजी अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार दुवैजनालाई कम्तिमा एक हप्ता राखिनेछ । उनले भने, ‘उहाँहरुको अवस्था एकदमै सामान्य छ ।’ दुवैलाई सुरुमा अलिकति ज्वरो आएको पाण्डेले जानकारी दिए । उनले भने, ‘उहाँहरुलाई अझै एक हप्ता हस्पिटलमा राखेर अन्तिममा फेरि जाँचेर पुरै नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर फर्काउनुपर्ने भएको हुनाले अझै एक हप्ता राख्ने हो । उहाँहरुको अवस्था एकदमै सामान्य छ ।’

संक्रमित युवतीको अवस्था त धेरै राम्रो भइरहेको उनले बताए । उनले युवतीका बारेमा भने, ‘उहाँ त  धेरै सचेत हुनुहुन्छ । उहाँ घरमा पनि सचेत अवस्थामा बस्नुभयो । हस्पिटलमा आएर पनि हामीलाई प्रष्ट जानकारी दिनुभयो ।’

युवकको उपचार समय दुई हप्ताको हुने समेत बताए । दुई हप्तापछि पुनः चेकजाँच गर्दा संक्रमणमुक्त भएपछि घर पठाउने उनको भनाई थियो । संक्रमित दुवैको स्वास्थ्यमा निकै सुधार आएपछि टेकुस्थित अस्पतालका चिकित्सक उत्साही भएका छन् ।



प्रतिक्रिया दिनुहोस्