Logo

महामारीमा आधा अर्ब कमिशनका योजनाकार



रिपोर्टर्स नेपाल, १७ चैत्र । एक अर्ब नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य सामाग्री चीनबाट खरिद गर्दा आधा अर्ब अनियमितता भएको खुलासा रिपोर्टर्स नेपालले हिजो गरेको थियो । चीनमा चल्तीको मूल्य, चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्रीको मूल्य र नेपाल सरकारले औषधी खरिदकर्ता कम्पनिलाई ठेक्कामा दिंदा उल्लेखित रकमको अन्तरले अनियमितता छोप्न नसकिने खालको छ ।

स्वास्थ्य सामाग्री महङ्गोमा खरिद गरेको स्वीकारेपनि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ एक रुपैयाँ भ्रष्टाचार नभएको दाबी गर्छन् । उनले खरिदमा भ्रष्टाचार भएको प्रमाणित गर्न चुनौती दिए । ऋषि धमलासँग एनआरएन रेडियोको नेपाली बहसमा भने, ‘यस्तो बेलामा मैंले औषधी ल्याउँदा भ्रष्टाचारी भन्ने राज्यद्रोही हुन् ।’ उनले आरोप लगाउनेहरुलाई समेत चुनौती दिए ।

यस प्रकरणमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत स्वास्थ्य मन्त्रालयका उच्च कर्मचारीहरु मौन छन् । तर, यसले देशभर तरंग ल्याएको छ । महामारीको संकटमा देश पर्दा दोब्बर देखि सात गुना बढी मूल्यमा स्वास्थ्य सामाग्री मिलेमतोमा खरिद गरेको भेटिएको छ । दुई महिना देखि तयारी गर्नुपर्नेमा बेवास्ता गरेर रातारात सेटिङमा सामाग्री ल्याइएको देखिन्छ । पूर्व सचिव भीम प्रसाद उपाध्याय पूरै योजनावद्ध तरिकाले पहिल्यै नै तयारी गरेर ल्याएको स्पष्ट हुने बताउँछन् । सामान लिने कम्पनि, ठेक्का पाउने कम्पनिलगायत पूर्व तयारी गरेर मिलाएर काम भएको उनको भनाई छ । उनले सामान पहिल्यै ठिक्क, जहाज पनि पहिल्यै ठिक्क, उत्पादक पनि सामान हातमा लिएर ठिक्क र सप्लायर्स पनि ठिक्क र दररेट पनि ठिक्क पारेर विगतमा पनि नभएको र भविष्यमा पनि नहुनेगरी सरकारी ठेक्का दर्ता भएको, सम्झौता भएको र सप्लाई पनि २४ घन्टामै भएको लेखेका छन् ।

यसअघि ग्वाङजाओमा बस्दै आएका एकजना नेपाली व्यापारी नविन विकले सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुल्लापत्र लेख्दै करोडौंको अनियमितता भएको आरोप लगाएका थिए । उनले चीनमा पर्ने मूल्य र नेपाल सरकारले खरिद गरेको मूल्यको फरक उल्लेख गर्दा मुख्य सामाग्रीको ४४ लाख ४० हजार डलर मूल्य फरक आएको देखिन्छ । यो ५५ करोड नेपाली रुपैयाँ हो । झण्डै एक अर्बको सामान खरिद गर्दा आधाभन्दा बढी अनियमितता भएको उनको आरोप छ । हरेक सामाग्रीमा करोडौंको अनियमितता भएको तथ्यांकनै प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना टेष्टको पिसिआर किटमा १४ करोड, चश्मामा १५ करोड, गाउनमा ११ करोड गरी केही सामानको मात्र आँकडा छुट्याएको छु, बाँकी त कति छन् कति ।’

तर, नविन विकलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले चुनौती दिएका छन् । अहिलेको मूल्यभन्दा कम मूल्यमा औषधी खरिद गरेर ल्याएमा यो ठेक्का सम्झौता नै रद्द गर्न चुनौती दिएका हुन् । उनले कुनै हालतमा अहिलेको भन्दा सस्तो मूल्यमा औषधी खरिद गर्न नसकिने दाबी गरे ।

तर, पूर्व सचिव भीम प्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय मूल्य र सरकारले खरिद गरेको मूल्यमा फरक रहेको बताए । कोरोना लागे नलागेको परीक्षण गर्ने पीसीआर विधिको लागि आवश्यक सामाग्री ५० हजार टेष्ट गर्न करिब ४५ करोड डलर खर्च गरिएको भन्दै यसबारे जानकार सौरभ भट्टराईले लेखेका छन्, एकपटक गर्ने पीसीआर टेष्टको खर्च बढीमा १० डलर पनि पर्न आउँदैन तर यहाँ एउटा टेष्टको १० डलरमा अर्थात् ९ गुना बढीमा सम्झौता भएको रहेछ । उनले लेखेका छन्, ‘भुकम्पपछि विपत्तिमा कमाउन पल्किनेहरु फेरि महामारीमा सल्बलाउन थाले ।

पूर्व सचिव भीम प्रसाद उपाध्यायले चीनको मूल्य र नेपालमा पर्ने मूल्यको निकै फरक आएको तुलना गर्न भन्दै लेखेका छन्, ‘चीनले नेपाललाई अनुदानमा दिएको मेडिकल सामानको रेट, नेपालले ठेकेदारबाट चीनबाट ल्याएको सामानको मूल्य सँगसँगै आज जहाजमा नेपाल आएको छ । आफै मूल्य तुलना गर्नुहोस् ।’

उपाध्यायका अनुसार अरुले सस्तोमा उही सामान उपलब्ध गराउन सक्नछन् भने उनीहरुसँग पनि खरिद गर्न सरकारलाई कसैले रोक्दैन । सरकारले किनेको मेडिकल सामानको मूल्य विश्व बजारमा प्रतिष्पर्धी नै हो भनेर जनतालाई आश्वस्त गराउनुको विकल्प छैन ।

भानुभक्त ढकाल र विशाल पण्डित
भानुभक्त ढकाल र विशाल पण्डित

यो प्रकरणमा स्वास्थ्य क्षेत्रमा सामान आपूर्ति गर्ने एउटा समूह, पर्दाभित्रका पात्र र स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारीको संलग्नता देखिएको छ । ओमनिटेक र ओबीसीआईमार्फत सामान ल्यान चारजना ठेकेदार मिलेका थिए । ओमनिटेकका विशाल पण्डित हुन् । ओबीसीआईका तुलहरि सिंह हुन् । उनीहरुको निकटता वर्तमान सरकार नजिक व्यवसायी र प्रशासकहरुसँग रहेको बुझिएको छ । ठेक्काका मुख्य योजनाकार ह्वाइट हाउस कलेजका संचालक युवराज शर्मा हुन् । उनले पर्दाभित्र बसेर यसको प्रक्रिया मिलाएका थिए । उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला देखि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अलावा प्रधानमन्त्री केपी शर्मा ओली नजिकका केही मानिसहरुलाई पनि व्यवस्थापन गरेको स्रोतले बतायो । उनकै योजना अनुसार रवीन्द्र श्रेष्ठ, विशाल पण्डितका अलावा तुलहरि सिंह र सुमन सिंहलाई मिलाएर सामाग्री ल्याउने जिम्मा दिने पहिल्यै नै तय भएको थियो । रवीन्द्र ओमनिटेकसँग सम्बन्धित हुन् । तुलहरि सिंहको ओबीसीआई कम्पनि छ । यसले यसैगरी सामान खरिदमा मध्यस्थकर्ताको शैलीमा भूमिका खेल्दै आएको छ ।

विशाल पण्डित हस्पिटेकसँग सम्बन्धित छन् । उनले आफ्नो कम्पनि विवादमा परेपछि ओम्निटेक र ओबीसीआईसँग भित्री साझेदारी गरेका हुन् । यसमा डिजाइनर युवराज शर्मा हुन् ।

तुलहरि सिंह र सुमनले नेपाल दुरसञ्चार प्राधिकरणमा पनि स्कुल ल्याबको ठेक्काको काम गरेको खुलेको छ । उनीसँग कमिशनको अडियोकाण्डमा राजीनामा दिन वाध्य भएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग नजिक छन् । बाँस्कोटासँगको निकटताबाट उनीहरुले दूरसञ्चारको ठेक्कापट्टा पाउँदै आएका थिए । अहिले उनीहरुको पनि चीनबाट मेडिकल सामाग्री ल्याउन संलग्नता देखिनुलाई अर्थपूर्ण मानिएको छ ।

चीनले सहयोग गरेको स्वास्थ्य सामाग्रीको मूल्यसूची

चीनबाट ठेकेदारमार्फत् सरकारले खरिद गरी ल्याएको स्वास्थ्य सामाग्रीको मूल्यसूची

चीनमा रहेका व्यापारी नविन विकले राखेको मूल्य फरक सूची



प्रतिक्रिया दिनुहोस्