Logo

पर्यटन क्षेत्रको २५ अर्ब लगानी संकटमा



भैरहवा, चैत २६ । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द छन् । यसले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएका थिए ।

सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको घोषणा गरेको थियो । जिल्लामा २५ तारे होटेल मात्रै छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ ।

तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको रु तीन अर्ब लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ ।
दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ ।

होटेलमा मासिक रु ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताउनुहुन्छ । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ ।
मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै रु एक अर्ब लगानीमा सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको बताए ।

उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि धेरै लगानी खर्च गरेका होटल व्यवसायीलाई अहिलेको महामारीले ठूलो घाटामा पु¥याउने जनाए। बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन् ।

लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ ।

पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ छ । अहिले विश्वमा आएको कोरोना महामारीले गर्दा भने सबैलाई निराश बनाएकोे सिद्धार्थ होटल एशोसियशन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको भनाई छ । “सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, बिद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्छ”, श्रेष्ठले माग गरे ।

होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताए । नेपालको पैदलमार्ग हुँदै धेरै पर्यटक आउने बेलहियासमेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्