Logo

भारतमा कोरोना महामारीको मुख्य कारक बनेको तब्लिगी जमातको नेपाल कनेक्सन



काठमाडौं, ३० चैत्र । भारतको नयाँ दिल्लीस्थित निजामुद्दीनमा मार्च महिनाको मध्यतिर एउटा धार्मिक भेला भएको थियो । तब्लिगी जमात भनिने मुस्लिम समुदायको उक्त धार्मिक भेलामा नेपालसहित विभिन्न देशका चार हजार भन्दा बढी धार्मिक व्यक्तिहरु सहभागी थिए । तर, त्यही सभा भारतमा कोरोना भाइरसको संक्रमण फैलाउने मुख्य कारक बनेको छ । जसको असर नेपालसम्म परेको छ ।

भारत सरकारले उक्त धार्मिक भेलामा सहभागीमध्येबाट शुरुमा पाँच सयभन्दा बढी व्यक्ति संक्रमित भएको तथ्य पत्ता लगायो । लगत्तै निजामुद्दीनको उक्त इलाका नै खाली गरायो । निजामुद्दीनस्थित मकरेजको तब्लिगी जमातीसँग सम्बन्धित यो भेलामा सहभागीका कारण भारतका अन्य क्षेत्रमा पनि महामारी फैलियो ।

उक्त भेलामा सहभागी एकजना नेपाली सफिद मिया कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ । उनलाई उत्तर प्रदेशमा उपचारका लागि अस्पताल राखिएको थियो । अस्पतालबाट फरार ती व्यक्ति पछि पक्राउ बागपत जिल्लामा पक्राउ परे ।

अहिले फेरि मुस्लिम धार्मिक सम्मेलनमा सहभागी भई फर्किएका तीनजना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । वीरगञ्जस्थित मस्जिदमा बस्दै आएका उनीहरुलाई नियन्त्रणमा लिइएको छ । सम्पर्कमा आएकाहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तब्लिगी जमातीसँग सम्बन्धित उनीहरुका कारण नेपालमा पनि महामारी फैलन खतरा बढेको छ । सरकारले लकडाउन गरेर रोकथामको कडा उपाय अपनाइरहँदा ९ जनामा सिमित भइरहेको संक्रमित संख्या बढेको विषय बाहिर आइसकेको छ ।

निजामुद्दीनको धार्मिक भेलामा सहभागीपछि कोरोना भाइरस संक्रमित भएर अस्पताल भर्ना भएका सफिद मिया फरार भई पुनः पक्राउ भएपछि

यसअघि १३ इन्डोनेशियाली महालक्ष्मी नगरपालिकामा ल्याइएकोमा उनीहरुको सम्बन्ध पनि तल्लिगी जमातीसँग भएको विषय उठेको थियो । ती इन्डोनेशियालीलाई अहिले गोप्य स्थानको क्वारेन्टाइनमा राखिएको छ ।

यसअघि सप्तरीको मुस्लिम सम्मेलन पनि दिल्लीको निजामुद्दीनस्थित मकरेजको तब्लिगी जमातसँग समेत सम्बन्ध जोडिएको खुलिसकेको छ । ४ देखि ६ फागुनमा सप्तरी बोदेबर्साइन ५ जाजरामा भएको सम्मेलनमा प्रवचन दिन दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मोहम्मद हजरत साद पुगेका थिए । साद निजामद्दीनको तब्लिगी जमातका प्रमुख हुन् ।

सादले प्रबचन दिएको धार्मिक सम्मेलनमा दुई लाख मुसलमान समुदायको सहभागिता थियो । दिल्लीको निजामुद्दीनमा विश्वभरका चार हजार मुसलमान धर्मालम्बीहरुको सहभागिता थियो । त्यही सम्मेलनमा सहभागीमध्येबाट सयौंलाई कोरोना भाइरसको संक्रमण भएको तथ्य खुलेको थियो । दर्जनौंको मृत्यु भयो । जमातेमा सहभागीको सम्पर्कमा आएका हजारौंलाई क्वारेन्टाइनमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्