Logo

भारतसँग सीमामा झन् कडाई, सुरक्षाकर्मीको गस्ती बढाइयो



काठमाडौं, १ वैशाख । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ । सीमाबाट लुकिछिपी आवतजावत रोक्न र लकडाउनको पूर्ण पालना गराउन गस्ती बढाइएको बुझिएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले पहाडका जिल्लामा रहेका सुरक्षाकर्मीलाई पनि आवश्यक परेमा तराईका सीमा क्षेत्रमा खटाउन निर्देशन दिइसकेका छन् । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाललाई उक्त निर्देशन दिइएको बुझिएको छ ।

यसअघि भारतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा अझ कडाई गरिने बताएका थिए । उनले भनेका थिए, लकडाउन खुकुलो हुँदैन, सीमामा अझ कडाई हुन्छ ।

विभिन्न जिल्लाका भारतसँग सीमा जोडिएका एक सय किलोमिटर सम्मको क्षेत्र शिल्ड गरेर सुरक्षाकर्मीलाई खटाइएको छ । सीमामा आवातजावतमा कडाई गरेर भारतसँग पनि समन्वय गरी कोरोना फैलन नदिने रोकथाम उपाय चलाइएको छ ।

देशभर १४ जना कोरोना भाइरसका संक्रमित भेटिएकामा ९ जना भारतसँग सीमा जोडिएका जिल्लामा भेटिएपछि सरकारले सीमामा अझ कडाई गर्न थालेको हो । भारतसँग बढी भूभाग जोडिएका प्रदेशका मुख्यमन्त्रीहरुले पनि कडाई गर्न सुझाव दिएका थिए । जसमध्ये केही व्यक्ति लकडाउनका बेलामा देशभित्र छिरेको पत्ता लागेको छ । प्रदेश २ मा मात्र हिजो र आज गरी ४ जना संक्रमित भेटिएका छन् ।

वीरगञ्जमा मस्जिदमा बस्दै आएका तीनजना भारतीय नागरिकमा संक्रमण भेटिएको हो । उनीहरु लकडाउनको समयमै नेपाल छिरेका थिए । रौतहटमा कोरोना संक्रमित १९ वर्षीय युवक पनि भारतबाट फर्किएर क्वारेन्टाइनमा थिए । कैलालीमा आज कोरोना संक्रमिति भेटिएकी ६५ वर्षीया महिला वीरगञ्जबाट गाडी चढेर पुगेकी हुन् ।

कैलालीमा यसअघि दुई जना संक्रमित भेटिएका थिए । जसमध्ये एकजना युवक खाडी मुलुकबाट फर्किएका थिए भने अर्की महिला उनकै भाउजु थिइन् । अर्का दुईजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । कैलालीमा मात्र कुल ५ जना कोरोना संक्रमित भई उपचाररत छन् । संक्रमित भेटिएका मध्ये भारतसँग सीमा जोडिएका जिल्लामा कुल ९ जना कोरोना संक्रमित हुन् ।-File Photo: APF



प्रतिक्रिया दिनुहोस्