Logo

भोकै परेपछि हिंडेर काभ्रेबाट दाङ जान रातभरको यात्रा (फोटोफिचर)



काठमाडौं, ४ वैशाख । उनीहरु दाङ जान गएराति काभ्रेको भकुण्डेबेसीबाट हिंडेका थिए । १५ जनाको समूह झिटिगुन्टा बोकेर हिंडेर महालक्ष्मी नगरपालिकाको शंखादेवी सिमथलीमा आइपुगेका थिए । लकडाउन भएको बखत उनीहरु सात दिन लगाएर भएपनि घर पुग्ने योजनामा थिए ।

नेपाली काँग्रेसका युवा नेता समेत रहेका स्थानीय ‘\समाजसेवी जयकृष्ण बोगटीले देखेर उनीहरुसँग जानकारी लिए । काभ्रको ईट्टाभट्टामा काम गर्दै आएको र खान मुश्किल भएपछि घर हिंडेको बताए । त्यसपछि उनीहरुलाई स्थानीयले सम्झाएर दाङ जान मुश्किल पर्ने बरु खान बस्न व्यवस्था गरिदिउँला भने ।

मानवताका आधारमा उनीहरुको व्यवस्थामा स्थानीय सक्रिय भए । महालक्ष्मी नगरपालिका नेपाली काँग्रेसका युवा नेता समेत रहेका हाम्रो युवा समाजका संयोजक विवेक कुमार कार्कीले तत्काल खानपिनको व्यवस्था गरे । उनले चिउरा, दालमोठ, जुस, पानीको व्यवस्था गरे । उनले भने, ‘तपाईंहरुलाई दाङ पुग्न निकै कठिन हुन्छ बरु व्यवस्थित तरिकाले आफै बस्दै आएको ठाउँमा बस्नुहोस् ।’ कार्कीले तत्काल ३० केजी चामलको समेत व्यवस्था गरिदिए ।

१५ जनाको समूहका पाका पशुराम विकले आफूहरु हिंडेरै भएपनि घर जान हिंडेको बताए । काम गर्दै आएको ठाउँमा खाने व्यवस्था समेत नभएपछि बाटो लागेको बताए । महानगरीय प्रहरी प्रभाग लुभुका इञ्चार्ज धिरेन्द्र थपलियाले उनीहरुको उद्धारमा भूमिका निभाए । जहाँबाट आएको त्यहीं पुग्ने गरी व्यवस्थापन गरे ।

विकसहित १५ जनालाई खाने बस्नेको व्यवस्था गर्न काभ्रेका स्थानीय नेताहरुसँग टेलिफोन सम्पर्क गरी युवा नेताहरु विवेककुमार कार्की र जयकृष्ण बोगटीले कुरा गरे । खाने बस्नेको उचित व्यवस्थापन हुने भएपछि १५ जना काभ्रे नै फर्कने भएका छन् ।

मध्यराति हिंडेका उनीहरु विहान ७ बजे शंखादेवी आइपुगेका थिए । महिला र नाबालक समेत समूहमा थिए । उनीहरु निकै थकित देखिन्थे । समूहका पशुराम विकले भने, ‘हामी अब फर्कन्छौं, खाने बस्ने व्यवस्था गरिदिनुभएकोमा मुरी मुरी धन्यवाद ।’

यसअघि हाम्रो युवा समाजले महालक्ष्मी नगरपालिका क्षेत्रमा दैनिक ज्याला गरेर गुजारा चलाउने ५ सय परिवारलाई राहत वितरण गरिसकेको छ । समाजका संयोजक कार्कीले यस क्षेत्रमा कोही पनि भोकै पर्न नदिने र अलपत्र परेकालाई समेत उचित व्यवस्थापन गर्न आफूहरु सक्रिय भएको बताए ।

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्