Logo

संघर्ष र जीवन



संघर्ष तब बाट शुरु हुन्छ जब उ आमाको पेटमा हुन्छ । जब हिड्न, बोल्न सिक्छ उसको लागि पनि संघर्ष गर्नुपर्छ । उठ्छ फेरी लड्छ । जब ठुलो हुन्छ पढाईको संघर्ष गर्नुपर्छ, त्यसपछि जागिरको यसरी नै जबसम्म जीवन हुन्छ तबसम्म संघर्ष गरेर नै बाच्नु पर्छ ।

संघर्ष जीवनको एक परिक्षण हो जुन अन्तिममा विजयको ढोका खुल्छ र समस्याको समाधान गर्छ । यदि संघर्षको जीवन बिताउन मन छ भने पुरानो कुरा बिर्सनुपर्छ बदलाको कठोर परिणाम हुन्छन् । त्यसैले क्षमा दिनु नै जीवनशैलीको मुल मन्त्र हो । जीवनमा परिर्वतनहरुको क्रम जारी रहन्छ । कुनै बाटो बन्द भएमा हार नमानी अझै उठ्ने प्रयास गर्दै आफ्नो लागि अझै बचेको छ भन्दै निरन्तर लागिरहनुपर्छ ।

संघर्षशील व्यक्ति एक पटक पुनः उस्तै जोश जागरको साथमा उठ्ने प्रयासरत हुनुपर्छ । प्रयास सफलताको कडी हो । संघर्ष कालमा एउटा कुरामा ध्यान राख्नुपर्छ व्यक्ति स्वयमको हातमा केही हुँदैन । व्यक्ति पुरुषार्थ देखाउन सक्छ तर समय भन्दा पहिले फल प्राप्त गर्न सक्दैन ।

समय भन्दा अघि कसैले पनि केही प्राप्त गर्न सक्दैन भन्ने प्रचलन नै छ । यसैले पर्खनु नै ठुलो सहयोग हो । सफलताको पर्खाइमा एक व्यक्तिले कठिनाईहरुमा पनि अनुकुलताको सुगन्ध भर्न सक्दछ । जीवनको विकास गर्न सक्छ ।

सफलता र संघर्ष एकैसाथ हिड्ने गर्छन । चुनौतीहरु केवल उचाइमा लैजाने मात्र नभई यथास्थितीमा रहनको लागि पनि हुन्छ । रोमका महान दार्शनिक सेनेले भनेका छन्, कठिन मार्गहरुले हामीलाई उचाइमा पु¥याउछ, अनिश्चितता हाम्रो शत्रु होइनन् । केही पनि स्थायी छैनन् । हामीलाई जीवनको असीमित सम्भावनाहरु थाहा छैन । बिहान हरेक रातपछि आउछ, यो पनि सत्य होकी रात जति कालो र डरलाग्दो भएपनि बिहान उज्यालो र रमाइलो हुन्छ ।

जीवनमा आउने दुःख, चिन्ता, तनाव र समस्याहरुले मानिसलाई निरन्तर कर्मशील राख्छ । सत्य यो होकी समस्या एक व्यक्तिको मापदण्ड हो जसमा व्यक्तिको व्यक्तित्व र चरित्र कडाईको साथमा परिक्षण गरिन्छ । तपाइँको प्रत्येक दिन विगत भन्दा फरक हुन्छ, यसलाई स्विकार गर्नु नै जीवनलाई अँगाल्नु हो ।



प्रतिक्रिया दिनुहोस्