Logo

मोदीले बोलाए प्रधानमन्त्री ओली भारत जान तयार



काठमाडौं, १३ जेठ । सिमा विवादको कारण नेपाल-भारत सम्बन्धमा चिसोपना आएको छ । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर भारतले नक्सा प्रकाशित गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएको थियो । भारतले नेपाली भूमि समावेश गरेर नक्सा प्रकाशित गरेलगत्तै नेपाल सरकारले ‘प्रोटेष्ट नोट’ पठाएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक रुट उद्घाटन गरेपछि त नेपाल र भारतबीचको सम्बन्ध पूरै चिसिएको छ ।

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । नेपालले नयाँ आद्यवधिक नक्सा सार्वजनिक गरेकै दिन भारतले उक्त नक्सा अस्विकार गर्ने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले एक स्टेटमेन्ट जारी गर्दै नेपालले जारी गरेको नक्सा एकपक्षीय र कृत्रिम विस्तार भएको बताएका थिए । नेपालले भारतसँगको सिमा विवाद समाधानको लागि तत्काल कुटनीतिक वार्ता गर्नुपर्ने बताउँदै आएको छ ।

यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा नजाने चर्चा चलेको थियो । तर, सिमा विवाद समाधानको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिए आफू जान तयार रहेको प्रधानमन्त्री ओलीले बताउने गरेका छन । उनले आफूमात्रै नभई वार्ताको लागि नेपाल सरकारका जोसुकै प्रतिनिधिहरु पनि भारत जान तयार रहेको बताएका छन् । भारतसँग वार्ता गर्न प्रधानमन्त्री ओली हरदम तयार रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन् ।

थापाका अनुसार आजको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री ओलीले भारत नजानेबारे आफ्नाबारे अफबाह फैलाईएको गुनासो राखेका थिए । बैठकमा ओलीले सिमा विवादको लागि भारतसँग वार्ता गर्न तयार रहेको बताउँदै भारतबाट निम्तो आए आफूपनि जाने जानकारी दिएका थिए । ओलीले भनेका थिए,हामीले वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ, तर अहिले हामी भारत जाँदैनौँ, मन्त्रीहरू पनि जाँदैनन्, म पनि जाँदिनँ भनेर बाहिर जुन प्रचार गरिएको छ, त्यो शतप्रतिशत अफवाह मात्र हो ।’



प्रतिक्रिया दिनुहोस्