राजनीतिक विश्लेषक भरत दाहाल किन परे पक्राउ ?


काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । साइबर ब्यूरोको पत्र तथा अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई नियन्त्रणमा लिएको हो ।

दाहाललाई आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी असोज २ गते पूर्वतर्फ गएको बताइएको छ । पक्राउपछि उनलाई काठमाडौं ल्याइएको छ ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिलीप गिरीका अनुसार दाहालमाथि युट्युबमार्फत तथ्यहीन तथा भ्रामक सामग्री प्रसारण गरेको आरोपमा विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

गिरीका अनुसार दाहालले आफ्नो नाममा सञ्चालित युट्युब च्यानलमार्फत सरकार, मन्त्री तथा विभिन्न उच्च राजनीतिक व्यक्तित्वसँग सम्बन्धित विषयमा तथ्यहीन सामग्री प्रसारण गरेको आरोप छ । उनले भने, ‘युट्युबमार्फत तथ्यहीन कुरा प्रसारण गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको हो ।’

दाहालले सञ्चालन गर्ने युट्युब च्यानलमा पछिल्लो समय नेपालको समसामयिक राजनीति, भूराजनीतिक घटनाक्रम तथा नयाँ राजनीतिक नेतृत्वबारे विभिन्न सामग्री सार्वजनिक हुँदै आएका थिए ।

उनले एउटा भिडियोमा ‘कन्सोर्टियम फर इलेक्सन्स एण्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ’ (सीईपीपीएस) र गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’बीच सम्बन्ध रहेको दाबी गरेका छन् । साथै, २०८२ भदौमा भएको जेनजी आन्दोलनअघि उक्त संस्थाले तालिम तथा नीति संवाद कार्यक्रम सञ्चालन गरी आन्दोलनलाई प्रभावित पार्न भूमिका खेलेको दाबीसमेत भिडियोमा गरिएको छ ।

उक्त सामग्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ तथा सांसदहरू सागर ढकाल र रञ्जु दर्शनालगायतका विषयमा समेत दाहालले टिप्पणी गरेका छन् । उनले अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रेजोन’मा प्रकाशित सामग्रीलाई आधार बनाएर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषणसमेत प्रस्तुत गरेका छन् ।

प्रहरीका अनुसार दाहालले नेपालमा पछिल्लो समय उदाएका नयाँ राजनीतिक नेतृत्वलाई अमेरिकी सरकारसँग जोडेर विभिन्न दाबी प्रस्तुत गरेका थिए ।

दाहाललाई काठमाडौं ल्याइसकिएको र सोमबारदेखि कानुनी प्रक्रिया अघि बढाइने साइबर ब्यूरोका एसपी गिरीले जानकारी दिएका छन् ।