Logo

एकटुक्रा धरतीबाट बञ्चित हाम्रा शरणार्थी मनहरू



उषा शेरचन

बिस्तारै बिस्तारै बोल तिमी
कतै यी भित्ताका कानहरुले
नसुनून् हाम्रा कुरा
कसरी फैलिएका छन् ?
चारैतिर हातहरु
कसरी ठडिएका छन् ?
चारैतिर कानहरु
षड्यन्त्रका जाल थापेर

मान्छे मान्छेको दर्जामा नभएको वेला
नबोल्नु बेश मान्छे भएर
मान्छेले मान्छेकै अस्तित्व लुटिरहेको वेला
नहिँड्नु बेश मान्छे भएर

मान्छे यहाँ मान्छे हैनन्
जङ्गली जनावर भएका छन्
मान्छे यहाँ मान्छे हैनन्
उन्मत्त भैरव बनेका छन्

एकपटक आँखा दौडाई हेर
यी भित्तै भरिका जङ्गली आँखाहरुमा
कसरी दन्किरहेका छन् ?
निभ्न नसकेका
अतृप्त वासनाका ज्वालाहरु

एक दृष्टि फ्याकि हेर
यी भित्तै भरिका राक्षसी ओठहरुमा
कसरी कटकटिएका छन् ?
पखाल्न नभ्याएका
विक्षिप्त रगतका टाटाहरु

देखेनौ ! यी बेवारिसी रगतका टाटाहरु?
चिनेनौ ! यी बेवारिसी रगतका टाटाह्ररु?

यी हाम्रै सन्तानका रगत हुन्
यी हाम्रै सन्तानका सपना हुन्
यी हाम्रै सन्तानका आकाङ्क्षा हुन्

देख्यौ ! ती मातेर हिडिरहेका
एक हुल उन्मत्त भैरवलाई ?

कसरी हाँसी रहेका निर्धक्कसित ?
–हाम्रा सन्तानका तात्तातो रगत पिउँदै
कसरी नाचिरहेछन् प्रफुल्ल भएर?
–हाम्रा सन्तानका लासहरुमाथि उफ्रदैँ

एउटा बर्बरताको उत्कृष्ट नमुनाबाट
एउटा पाशविकताको खुल्ला प्रर्दशनबाट
पराजयको निलकाँडामाथि
टेक्दै भाग्नुपर्ने हाम्रा
शरणार्थी मनहरु

सधैं सधैं आफैँबाट पनि भाग्दै हिँड्नु पर्छ
सधैं सधै आफ्नै छायासँग पनि तर्सदै जानुपर्छ
सधैं सधैं आफ्नै एक टुक्रा धरतीबाट पनि
वञ्चित भएर बाँच्नु पर्छ !
वञ्चित भएर बाँच्न पर्छ !!



प्रतिक्रिया दिनुहोस्