Logo

नक्शा पारित गर्ने संविधान संशोधन अनुमोदनका लागि मधेश केन्द्रित नेताहरुको शर्तसहित अड्को



काठमाडौं, १५ जेठ । देशको नयाँ नक्शा संसदमा दर्ता भइसकेपनि छलफलका लागि पेश गर्नुपर्नेमा हिजो स्थगित भयो । स्थगित प्रति विभिन्न शंका आशंका भएका छन् । जसमध्ये देशको नक्शा जस्तो विषयमा सर्वसम्मत बनाउने पहल र नेपाली काँग्रेसले संस्थागत निर्णय लिन समय मागेको विषय बाहिर आएका छन् ।

सबैभन्दा गम्भीर विषय जनता समाजवादी पार्टीले उठाएको संविधान संशोधनका लागि शर्त रहेको छ । उसले देशको नक्शाका लागि मात्र नभई नागरिकका लागि पनि संविधान संशोधन हुनुपर्ने तर्क गरेको छ । मधेशी, जनजाति, थारु, मुस्लिमलगायत अल्पसंख्यक, उत्पीडित र सिमान्तकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिइएको छ ।

जसपा नेता लक्ष्मणलाल कर्णले नक्शाका लागि मात्र नभई जनताका लागि पनि संविधान संशोधन हुनुपर्ने तर्क गरेका छन् । उनले भने, यत्तिका वर्षसम्म लिपुलेक नचाहिने अहिले किन चाहियो ? उनले देश भनेको जनता पनि भएकाले जनताका लागि संविधान संशोधन गर्नुपर्ने तर्क गरे ।
जसपाका अर्का नेता राजेन्द्र महतोले मधेशी, जनजातिलगायतको हक अधिकार स्थापित गर्न संविधान सशोधन नभई नक्शा संशोधनमा जान नसकिने बताए । उनले संविधान संशोधन अपरिहार्य शर्त भएको बताएका छन् । ‘सीमा मात्रै राष्ट्रियता मधेशीलाई संविधानमै बेइमानी ?’ महतोले प्रश्न गरे ।

यसरी संविधान संशोधनमा जनता समाजवादी पार्टीको शर्त आएपछि राजनीतिक वृत्तमा तरंग आएको छ । कतिपयले यसलाई दक्षिणकै भुमिकाका रुपमा आशंका व्यक्त गर्न थालेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्