Logo

प्रदेश नं २ को सरकारले कोरोना कोषबाट अस्पतालहरुलाई आठ करोडभन्दा बढी रकम प्रदान



जनकपुरधाम, १८ जेठ : प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि हालसम्म विभिन्न अस्पताललाई रु आठ करोड २३ लाख २५ हजार रकम उपलब्ध गराएको छ । पछिल्लो चरणमा पनि विभिन्न अस्पताललाई रु पाँच करोड १३ लाख ७५ हजार निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सोअन्तर्गत पछिल्लो चरणमा सो कोषबाट पर्सास्थित पोखरिया अस्पताललाई औजार उपकरण खरिदका लागि रु १० लाख, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, कोभिड–१९ सङ्क्रमित व्यक्तिहरु एवम् स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना र पानी व्यवस्थापन गर्न रु १० लाख, औषधि खरिदका लागि रु पाँच लाख र खानेपानी व्यवस्थापनमा रु दुई लाख गरी जम्मा रु ३७ लाख उपलब्ध गराइएको छ ।

रौतहट जिल्लास्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्थापनतर्फ रु २५ लाख, औषधि खरिदका लागि रु पाँच लाख, पानीको धारा, विद्युत् महसुलका लागि रु छ लाख, पिपिई, सानिटाइजर लगायतका सामग्री खरिदका लागि रु चार लाख, मेशिनरी औजार मर्मतका लागि रु एक लाख ५० हजार, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, सरसफाइका लागि रु एक लाख ५० हजार र श्यया सेट खरिदका लागि रु तीन लाख गरी जम्मा रु ५६ लाख उपलब्ध गराइएको जानकारी गराइएको छ ।

त्यसैगरी सर्लाही जिल्लास्थित मलङ्गवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि खरिदतर्फ रु पाँच लाख, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, खाजा, खानेपानी व्यवस्थापन गर्न रु १० लाख, मेशिनरी औजार उपकरण खरिदका लागि रु दुई लाख, श्यया तथा फर्निचर व्यवस्थाका लागि रु पाँच लाख, क्वारेन्टिनको बास खर्चका लागि रु चार लाख, कार्यालय सामग्री र इन्धनका लागि रु एक–एक लाख, सवारी साधन भाडामा लिनका लागि रु एक लाख, आइसोलेशन भवन मर्मतसम्भारका लागि रु एक लाख, सञ्चार महसुल रु २५ हजार र पानी तथा विद्युत महसुल रु ५० हजार गरी जम्मा रु ४० लाख ७५ हजार पठाइएको छ ।

सप्तरी जिल्लास्थित भारदह अस्पतालमा प्री–फ्याब भवन निर्माणका लागि रु एक करोड ७५ लाख, फर्निचर फिक्सचरतर्फ रु २५ लाख, शौचालय निर्माणतर्फ रु २५ लाख, अस्पताल रङ्गरोगनका लागि रु १० लाख, ल्याब सेटअपका लागि रु ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिङतर्फ रु पाँच लाख गरी जम्मा रु दुई करोड ९० लाख उपलब्ध गराइएको छ ।

सिरहा जिल्लास्थित सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवम् स्वास्थ्य सामग्री खरिदतर्फ रु १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि रु १० लाख, सिसिटिभी एवम् मेशिनरी औजार खरिदका लागि रु पाँच लाख, बेडसेट, फर्निचर खरिदका लागि रु पाँच लाख, क्वारेन्टिन बाँसखर्चका लागि रु पाँच लाख, खाजा, खानेपानी व्यवस्थापन गर्न रु १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पूर्वाधार विकासतर्फ रु १० लाख गरी जम्मा रु ६५ लाख उपलब्ध गराइएको छ ।

सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साइकृष्ण मेडिकल कलेज कोभिड–१९ लेभल–१ अस्पतालमा आइसोलेशन कक्ष निर्माण गर्न नेपाली सेनाको भीमदल गणलाई रु २५ लाख उपलब्ध गराइएको छ । रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले यसअघि, उपचार कोषबाट गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई रु १० लाख, सप्तरीको भारदह अस्पताललाई रु ३१ लाख, लहान अस्पताललाई रु १९ लाख ५० हजार, सिरहा अस्पताललाई रु १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई रु ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई रु १९ लाख ५० हजार र मलङ्गवा अस्पताललाई रु १९ लाख ५० हजार उपलब्ध गराएको थियो ।

त्यस्तै, गौर अस्पताललाई रु १९ लाख ५० हजार, कलैया अस्पताललाई रु ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई रु ३१ लाख २५ हजार र नारायणी अस्पताललाई वीरगञ्जलाई खाद्यान्नका लागि रु २५ लाख तथा पिसिआर मेशिन सञ्चालनका लागि रु ५० लाख गरी रु तीन करोड नौ लाख ५० हजार उपलब्ध गराएको थियो । प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पताललाई रकम उपलब्ध गराएको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्